काठमाडौं– दक्षिण कोरियाले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ को निर्मँण आगामी जनवरीबाट थाल्ने प्रतिवद्धता जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग बुधबार सिंहदरबारमा भएको भेटमा दक्षिण कोरीयाली राजदूत योङग सिक पार्कले यस्तो प्रतिवद्धता जनाएका हुन्। माथिल्लो त्रिशुली–१ निर्माणको जिम्मा कोरीयाली कम्पनीले पाइसकेको छ।
माथिल्लो त्रिशुली –१ परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्ष्ट्रक्शन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्ष्ट्रक्शन कम्पनीको १० प्रतिशत, इन्टरनेशन फाइनानस कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना रहेको छ।
राजदूतसँगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधीले समेत परियोजना यथासम्भव र निश्चित समयभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४ सय ५० मिलियन डलर ऋण लिने प्रक्रियामा कम्पनीले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
भेटमा मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न समेत आह्वान गरे। मन्त्री पुनले हेजिङ फण्डबारे आफूले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारी राखेर ऊर्जामन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणाम सकारात्मक आउनेमा आशावादी रहेको बताए।





