बडिकेदारमा पहिरो नियन्त्रण गर्न नीति बनाइने

डोटी–डोटीको बडिकेदार गाउँपालिकाका जनप्रतिनिधिहरूले पहिरो नियन्त्रणका लागि वातावरणमैत्री नीति निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

वर्षेनि पहिरोका कारण जनधनको क्षति व्यहोरेका बडिकेदारबासीले पहिरो नियन्त्रणका लागि गाउँपालिकाबाटै सुरुवात गरिने प्रतिवद्धता जनाएका हुन्।

नेपाल वातावरण पत्रकार समूह (नेफज) ले आयोजना गरेको ‘पानी छलफल’ मा बडिकेदार गाउँपालिकाका जनप्रतिनिधिहरूले लिखित रुपमा प्रतिवद्धता जनाएका छन्।

वरिपरि ठूलीगाड र बोक्टान लगाम कर्णालीले घेरिएको बडिकेदार गाउँपालिकाका स्थानीय बाढीपहिरोका कारण वर्षेनि समस्या झेल्दै आएका छन्। ‘मेरो गाउँ ठूलीगाडको छेउमा छ। वर्षेनि बेसीबाट बाढीले काट्छ, माथिबाट पहिरो खस्छ,’ बडिकेदार गाउँपालिका वडा नम्बर १ की ठकनदेवी कोलालले भनिन्।

बडिकेदार गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर बोहराले पनि ठूलीगाडको कटानका कारण पहिरो जाने गरेको बताए। अन्य वडामाभन्दा आफ्नो गाउँमा ढुंगा बढी हुनु, बाटो निर्माण गर्दा ठेकेदारले प्राविधिक अध्ययन नगर्नु र जथाभावी रुपमा वन फडानी हुनुले बाढीपहिरोको समस्या बढ्दै गएको उल्लेख गर्दै बोहराले भने, ‘विपिनगर–खुटिया फास्ट ट्रयाक खन्दा झनै पहिरो गएको छ। खेतीयोग्य जमिन समेत पुरिएको छ।’ पहिरो नियन्त्रणका लागि वृक्षरोपणसँगै डढेलो नियन्त्रण नियन्त्रणको काम भइरहेको उनले बताए।

बोकटान जलाधार क्षेत्रसँग जोडिएको बडिकेदार– ५ लानाकी गौरी राणा कठायतले ‘नयाँ पालुवा पलाउँछ’ भन्दै वनमा जथाभावी डढेलो लगाउने कामलाई रोक्नुपर्ने बताइन्। ‘जनचेतनाको कमीका कारण अहिले पनि वनमा डढेलो लगाउँछन्, जसले गर्दा साना बिरुवा मर्ने, ठूला रुख सुक्ने र वर्षामा पहिरो जाने समस्या भोग्नुपरेको छ,’ उनले भनिन्। लानाका वडाध्यक्ष बुद्धिसागर विनाडीले पहिरो खस्ने क्षेत्रमा अम्रिसो र बाँस लगायतका वनस्पति लगाउने निस्कर्षमा आफूहरु पुगेको बताए।

वडा नम्बर ३ का वडाध्यक्ष लिलाधर सापकोटाले बाढीपहिरोबाट ठूलीगाड, गाँजरी, व्याबरे, ओखलढुङ्गा, राताढुङ्गा, देउथान, पिपलकुण्डाका नागरिक पीडित रहेको बताए। ‘उताबाट कर्णाली आएको छ यताबाट ठूलीगाड। यी दुबै नदीको कटानले गर्दा कैयौं परिवार घरवारविहीन भएका छन्,’ उनले भने। नदीको कटानका कारण विस्थापित देउथानका २० परिवार २ वर्षदेखि जंगलमा बसिरहेको उनले बताए।

गाउँपालिका उपाध्यक्ष ईन्द्राभाट बोहराले बाढीपहिरो रोक्न वृक्षरोपणका कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने बताइन्। जनसंख्या वृद्धिका कारण वनजंगल फडानी गरेर बसोबास गरिरहेको अवस्था रहेकाले त्यस्ता समस्याको समाधानका लागि आफूहरुले नीति निर्माण गरेर अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरिन्।

वडा नम्बर १, २ र ३ ठूलीगाडको क्षेत्रमा पर्ने भएकाले वर्षेनि पहिरो जाने गरेको छ। बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बाढीपहिरो, कटान जस्ता समस्या समाधानका लागि छलफल भइरहेको र केही ठाउँमा तटबन्धको काम सुरु भएको बताए। ‘वन कार्यालयले उत्पादन गरेका बिरुवा रोप्ने काम पनि सुरु गरेका छौं,’ उनले भने।

यद्यपी, सडक बनाउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भीक वातावरण मूल्यांकन (आइइइ) बनाउनुपर्ने भएपनि त्यसका लागि १० औं वर्ष लाने भएकाले समस्या भइरहेको बताए। ‘हाम्रो समय भनेको ५ वर्ष मात्रै हो जनताले विकास चाहन्छन्, हामीलाई त्यो गर्न अप्ठ्यारो छ,’ उनले भने, ‘तर गाउँपालिकाले नै कार्ययोजना र नीति निर्माण गरेर अगाडि बढ्छौं ।’

अहिले सबै जनप्रतिनिधि सजक रहेको बताउँदै उनले पहिरो नियन्त्रण गर्न, तटबन्ध गर्न र वृक्षरोपण लगायतका काम गर्न गाउँपालिकाले सके गाउँपालिका नसके प्रदेश र संघसँग अनुरोध गरेर भएपनि काम गर्ने प्रतिवद्धता जनाए।

पानी छलफलमा जनप्रतिनिधिले स्थानीयले सोधेको प्रश्नको जवाफ दिनुका साथै विभिन्न ८ बुँदामा प्रतिवद्धता जनाएका छन्।  बडिकेदार गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्षको उपस्थिति रहेको पानी छलफलमा स्थानीय र जनप्रतिनिधिले प्राकृतिक विपत्का बारेमा छलफल गरेका थिए।

प्रतिवद्धताहरू
–विकास निर्माणको कार्य गर्दा वातावरणमैत्री योजना एवं नीति निर्माण गरिनेछ ।

–विपत् व्यवस्थापन गर्न विपत् व्यवस्थापन समिति निर्माण गरी प्रभावकारी रुपमा कार्य गरिनेछ ।

–स्थानीयलाई नै पहिरो नियन्त्रण गर्न तथा विपत् व्यवस्थापन गर्न स्थानीयलाई तालिम र चेतना प्रदान गरिनेछ।

–वृक्षरोपण गर्ने, पानीका मुहान संरक्षण गर्ने योजना ल्याइनुका साथै सिंचाइको कुलो निर्माण गर्दा पहिरो जाने जोखिमको सम्भाव्यता अध्ययन गरेर मात्रै निर्माण गरिनेछ।

–डढेलो नियन्त्रण गर्न गाउँपालिकाले सम्बन्धित वडामा डढेलो नियन्त्रण कार्य सञ्चालन गर्नेछ।

–नदी कटान, पहिरो, भूक्षय लगायतका विपत् व्यवस्थापन गर्न गाउँपालिकाले प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गर्नेछ।

–पहिरो जाने ठाउँमा अम्रिसो, बाँस जस्ता बिरुवा रोप्ने योजना ल्याइनेछ।

–नदी कटान भएका ठाउँमा तटबन्धको काम अगाडि बढाउने योजना ल्याउन पहल गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार