रत्ननगर– चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी) को अध्ययन गरिने भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ। जसमा विदेशी विशेषज्ञको समेत सहभागिता रहने छ। हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन। चितवन निकुञ्ज करीब ९ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ।
सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थियो। यसपटक ९३ मात्रै बाघ पाइएको छ। सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ।
पछिल्लो गणनामा चितवन निकुञ्जमा ६ सय ५ गैँडा रहेको तथ्याङ्क छ। निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो।
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको सबैभन्दा ठूलो वासस्थान हो। गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी गैँडा उपहार दिइएको छ ।
अध्ययनका क्रममा बाघ, गैँडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ। रासस





