काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख तीन नदीमा जलमार्गका लागि पूर्वाधार निर्माण गर्न शुरु गरिने बताएका छन्।
कृषि तथा जलस्रोत समितिको सोमबारको बैठकमा मन्त्री पुनले कोसी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेको अध्ययनले देखाएकाले पूर्वाधार निर्माण शुरु गरिने बताएका हुन्। उनका अनुसार कोसी र नारायणीमा जलमार्गका लागि भारततर्फ पूर्वाधार निर्माण शुरु भइसकेको छ।
यसअघि अर्थमन्त्री युवराज खतिवडाले गत असारमा संसदमा भनेका थिए, ‘जलमार्गका लागि नदी सर्वेक्षणको काम शुरु भइसकेको र आगामी आर्थिक वर्ष शुरु हुने वित्तिकै अघि बढ्छ।’
त्यसलगत्तै गत असारमा नेपालका नदीमा पानी जलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच जलमार्गको आर्थिक सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको थियो। नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वको टोलीबीच छलफल भएको थियो।
हसचिव बेल्वासेको अध्यक्षतामा रहेको जल यातायात सम्भावना अध्ययन समितिले भारतको कालुघाट र हल्दियामा आइपुगेको पानीजहाजलाई नेपालमो कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिसकेको छ। यअसघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो।





