काठमाडौं– सरकारले बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लाग प्रक्रिया बढाइरहेका बेला त्यहाँका बासिन्दाले पर्यावरणलाई ख्याल गर्न आग्रह गरेका छन्।
चुरे–मधेस विकास मञ्चले सोमबार निजगढको बुद्धचोकमा आयोजना गरेको ‘चुरे वन जंगल तथा वातावरण जोगाऔैं’ सभामा स्थानीयले चुरेको अव्यवस्थित दोहनबाट भइरहेको हानी नोक्सानी तथा प्रस्तावित विमानस्थलले ल्याउन सक्ने वातावरणीय असरको न्यूनीकरण गर्न आग्रह गरेका हुन्।
जंगल फडानी भए पानीका मुहान सुक्ने खतरा औंल्याउँदै सामाजिक अगुवा प्रकाश थारुले भने, ‘पानीको सतह पछिल्ला केही वर्षमा धेरै तल गइसकेका छ। त्यसैले विमानस्थल निर्माणको लागि चाहिने न्यूनतम जग्गामात्र अधिग्रहण होस्।’
समाजशास्त्री भरत शाहले चुरेको अनियन्त्रत दोहनले नदीको सतह बढिरहेकाले बाढ़ीको खतरा बढ्दै गएको बताए। निजगढ़ विमानस्थलका लागि चाहिने माटो चुरेबाट ल्याइए समस्या झन बल्झिने उनको तर्क छ।
टांगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले सरकारले बस्ती सार्न मुआब्जा वितरणमा ढिला–सुस्ती गरेको तथा विमानस्थललाई बाराभन्दा बाहिर लग्ने चलखेल शुरु भएकोभन्दै आपत्ति जनाए।
निजगढ़का कुमार लामाले निजगढ़ विमानस्थललाई अन्य ठाउँमा सार्न नहुने बताए। ‘निजगढ अन्यत्र सार्न हुँदैन,’ उनले भने, ‘पर्यावरणलाई ध्यानमा राखेर निजगढ विमानस्थल बनाउनुपर्छ।’
सामाजिक अभियन्ता सरोज रायले जंगल कटानीको सोधभर्ना स्वरूप जति सुकै रुख रोपे पनि त्यो जंगल बन्न नसक्ने बताए। ‘रुख रोप्न सकिए पनि दुर्लभ जंगली जनावरको बासस्थल कुनै बगैचा हुन सक्दैन,’ उनले भने। चुरे–मधेस विकास मञ्चका अध्यक्ष सुनिल यादवले वनजंगल तथा चुरे संरक्षणका लागि हातेमालो गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए।





