Tuesday, November 5, 2024

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : वातावरणीय क्षति न्यून गर्न सुझाव

काठमाडौँ –विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारपूर्व नै विज्ञले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्षति न्यून गर्न सुझाव दिएका छन्।

प्रारम्भिक चरणमा विमानस्थल निर्माणका लागि कम्तीमा ७ लाख रूख काट्नुपर्ने हुन्छ। जसका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिइसकेको छ । रूख कटानका लागि आवश्यक जनशक्ति आफूसँग नभएको भन्दै सेनाले वन मन्त्रालयसँग माग गरेको छ । तर, वन मन्त्रालयले रूख काट्ने अनुमति नै दिएको छैन।

ठूलो मात्रामा रूख कटान हुँदा पर्यावरणमा असर पर्ने संरक्षणविद्ले बताएपछि विकासविरोधी भन्ने आरोप उनीहरूलाई लाग्न थालेको छ । विकासको नाममा विनाश गर्न नहुने संरक्षणकर्मीको धारणा आइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आश्यकताको विषयमा सबैपक्ष सकारात्मक हुनुले विकासकोे विरोधमा वातावरणकर्मी छन् भन्न नमिल्ने नागरिक अगुवा देवेन्द्रराज पाण्डे बताउँछन्। ‘निजगढ वर्तमान सरकारको मात्र योजना हो र ? विगतका सरकारहरू पनि सबै यसमा लागेकै होइनन् रु त्यसैले सरकार बढी डिफेन्सिभ, अफेन्सिभ हुन जरुरी छैन,’ उनले राजधानीसँग भने, ‘योजनाबारे उठेका प्रश्नमा खुला छलफल हो, विमानस्थल बनोस् तर हरसम्भव कोणबाट राम्रो बनोस्, मुलुकलाई चाहिएको त्यति हो, सरकारलाई त्यही होइन ?’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आवश्यकताको विषयसँग सम्बन्धित भएर काम हुने बताए। उनले डीपीआर तयार भएपछि मात्रै रूख काट्ने काम सुरु गर्ने बताए।

‘निजगढमा रूख काटिने कुराको विरोध गर्नेहरू विकासविरोधी होइनन्, बरू पर्यावरणप्रेमी पो हुन्,’ उनले भने, ‘त्यहाँ काटिने रूखको भर्पाइ रोपण कहाँ हुन्छ ? रोपिएका बिरुवाको सुरक्षा हुने ग्यारेन्टी कसरी गरिन्छ ? चिन्ता यतातिर हो ।’ उनले न्यून क्षति हुनेगरी विकासको काम गर्ने विषयमा मन्त्रालय सचेत रहेको बताए।

वातावरण मन्त्रालयमा सहसचिव रही विभिन्न परियोजनाको वातावरण प्रभाव मूल्यांकन (ईआईए) को कामसमेत गरेका बटुकृष्ण उप्रेतीले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्यांकनमा धेरै कमी कमजोरी भएको बताए । उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताएका छन्।

यस्तै, प्राकृतिक स्रोतविज्ञ सुरज श्रेष्ठले डीपीआर बनाएर मात्र ईआईए बनाउनुपर्ने कानुन भएको बताउँदै सरकारले त्यसको उल्लंघन गरेको बताए। उनले अझ सरकारले डीपीआरबिना नै रूख कटानको तयारी गरेको विषयमा चिन्ता व्यक्त गरे।

विशेषतः वातावरणको क्षेत्रमा काम गरेका प्रबुद्ध व्यक्तिहरूले वातावरणमा पर्ने नकारात्मक प्रभावका बारेमा चनाखो हुन आग्रह गरिरहेका छन्।

सरकारसँग निकट रहेका केही व्यक्तिले पनि विमानस्थल निर्माण हुनुपूर्व वातावरणमा ख्याल गरिनुपर्नेमा जोड दिए। तिनै विज्ञ र सरोकारवालालाई कतिपयले डलरको आडमा यो विषय उठाएको अथवा अन्य कारणले यो विषय उठाएको आरोप लगाइरहेका छन्।

पूर्वक्याप्टेन प्रचण्डजंग शाहले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त भएको बताए। उनले यसको विकल्प नभएको भन्दै वातावरणीय क्षति कम हुनेगरी काम गर्नुपर्ने सुझाव दिए। २३ वर्षअघिदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने विषयले आशा पलाएको उनले बताए।

८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्र ओगटनेगरी बारामा विमानस्थल बन्नेप्रति आशासँगै बहस भएको विषयलाई उनले सकारात्मक रूपमा लिएका छन्। वातावरणीय असरको विषयमा सचेत भएर गरिएको बहसलाई स्वच्छ विचारका रूपमा लिनुपर्ने उनी बताउँछन्।

विमानस्थलले ओगट्ने क्षेत्रमध्ये ७ हजार ९६९ हेक्टरमा वनजंगल र बाँकी क्षेत्रमा बस्ती छ। सन् १९९५ मा विभिन्न आठ स्थानमध्येबाट सो स्थानलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रस्ताव गरिएको थियो। बारामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउँदा मुलुकलाई फाइदा हुने उनको बुझाइ छ। राजधानी दैनिकबाट 

ताजा समाचार

सम्बन्धित समाचार