काठमाडौं–अर्घाखाँची जिल्लाको किमडाँडा क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणमा लिन २५ भदौमा परिचालन भएको सुरक्षाकर्मीको टोली रित्तै फर्किएको छ।
सन्धिखर्क नगरपालिका–८ किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट एक पाँच वर्षीया बालिका सदीक्षा रानाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ८० सदस्यीय टोली जंगलतिर पठाएको थियो।
तर, चितुवा नभेटिएपछि टोली फर्किएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। ‘चितुवाले बेलाबेलामा आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो,’ प्रजिअ भुसालले भने, ‘अहिलेलाई फेरि टोली परिचालन गर्ने योजना छैन।
स्थानीय प्रशासनका अनुसार अर्घाखाँचीमा नरभक्षी चितुवाले तीन वर्षको अवधिमा १२ जनाको ज्यान लिइसकेको छ। संरक्षणकर्मीहरू भने वनजंगल विनास हुनुका साथै आहारामा कमी आउन थालेपछि चितुवा लगायतका वन्यजन्तु बस्ती आउने गरेको बताउँछन्।
पढ्नुहाेस् : मान्छे मार्ने चितुवा खोज्न सेना परिचालन





