चक्रपथको अहिलेको डिजाइनले वातावरणमैत्री यातायातका माध्यमहरू जस्तैः हिड्ने, साइकल चढ्ने र सार्वजनिक यातायातलाई प्रवध्र्दन नगरेर गाडीलाई मात्र प्रवध्र्दन गरेको देखिन्छ ।
भुषण तुलाधर
विगतका केही हप्तादेखि अहिले विस्तार हुँदै गरेकोे चक्रपथको बारेमा निकै चर्चा भईराखेको छ, यसको डिजाइनको बारेमा । विशेष गरेर पैदलयात्रीहरूको सुरक्षाको कुरा गर्दा कसरी हुनसक्छ भन्ने कुरामा ।
वातावरणको दृष्टिकोणले हेर्दा चक्रपथको विस्तारमा मुख्यतः दुई वटा समस्या देखिन्छ । एक त चक्रपथको अहिलेको डिजाइनले वातावरणमैत्री यातायातका माध्यमहरू जस्तैः हिड्ने, साइकल चढ्ने र सार्वजनिक यातायातलाई प्रर्वधन नगरेर गाडीलाई मात्र प्रर्वधन गरेको देखिन्छ । अथवा दुई लेनको चक्रपथलाई आठ लेन बनाउँदा प्रदुषण गर्ने गाडिहरूकालागि लेन थपेको देखिन्छ । पैदलयात्रु, साइलक चालक र सार्वजनिक यातायातको आवश्यकतालाई पर्याप्त ध्यान नदिएको देखिन्छ ।
दोस्रो समस्या भनेको चक्रपथमा भएको ग्रीन बेल्ट मासिएको छ र अहिले विस्तारै चक्रपथमा हरियालीको लहरमा खासै केही देखिंदैन । अहिले हिंड्ने हो भने हिंड्नका लागि चक्रपथमा फुटपाठ त छ जुन पहिलेको चक्रपथमा थिएन । तर, जुन हिसाबले फुटपाठ बनेको छ, ती फुटपाठ निकै नै साँघुरा छन् । अहिले के देखिन्छ भने ५० मिटर चौडा चक्रपथमा फुटपाठको चौडाई भनेको जम्मा साढे दुई मिटर मात्र छ । अर्थात् दुबैतिर साढे दुई मिटर, साढे दुई मिटर छोडिएको छ । यो पर्याप्त छैन ।
कति ठाउँमा त सडक किनारको नाला, जुन ड्रेनेज भन्छौं हामी, त्यसकै माथि फुटपाठ बनाइएको छ । यो ड्रेनेज कभरमा पनि प्वाल प्वाल छ, जुन हिंड्नका लागि असजिलो हुने देखिन्छ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा के हो भने यो फुटपाठ त छ, तर पैदलयात्रुहरूको लागि अर्को चासोको विषय भनेको बाटो काट्ने ठाउँ र आठ लेनको सडक भन्ने वितिकै त्यो बाटो कसरी काट्ने भन्ने समस्या हो ।
चक्रपथ भनेको अहिले आएर शहरको मुख्य–मुख्य बजारमा बढी जाने गर्छ जस्तैः कोटेश्वर, कलंकी, सातदोबाटो इत्यादी । त्यहाँ धेरै मानिसहरू आवतजावत गर्छन्, जहाँ बाटो काट्न आवश्यक छ ।
विशेषगरी, बसमा हिंड्नेहरूको पनि बस एकातिर रोक्छ, जानुपर्ने अर्कोतिर हुन्छ । र आठ लेनको बाटो काट्दा खतरा हुनसक्ने सम्भावना धेरै छ । र हामीले के देखिराखेका छौं भने काठमाडौंमा अहिले पनि ४० प्रतिशत यात्रा पैदलमै हुन्छ । धेरैजसो मानिसहरू पैदल नै हिंड्छन् । बस चढ्नेहरूले पनि बाटो काट्न आवश्यक छँदैछ । सवारी दुर्घटनाको डाटा हेर्ने हो भने झण्डैझण्डै आधा अथवा सवारी दुर्घटनामा मृत्यु हुनेमा ४०/५० प्रतिशत त पैदलयात्री नै हुने गर्छन् । त्यसैले शहरी क्षेत्रमा बाटो बनाउँदा पैदलयात्रुको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने हो । उहाँहरूलाई सहज र सुरक्षित यात्रा गर्नसक्ने संरचना बनाउनुपर्छ । तर अहिले विस्तारित रिङरोडमा त यात्रुहरूलाई बाटो काट्ने निश्चय पनि अप्ठेरो देखिन्छ । यसमा गुनासो पनि आउन थालिसकेको छ ।
अहिले के देखिन्छ भने जुन १० किलोमिटरको बाटो छ, त्यो १० किलोमिटरभन्दा अलिकति बढी छ । कलंकीदेखि कोटेश्वरसम्म बाटोमा आकाशे पुल भनेर बाटो काट्नका लागि तीन ठाउँमा बनाइएको छ । तर त्यो बाटो काट्दा, आठ लेनको बाटो काट्दा निश्चय पनि तीन वटा पुलले पुग्दैन । ठाउँ ठाउँमा अझै संरचना बनाउने भनेर भनेको छ तर त्यो बन्न सकेको छैन । अन्य ठाउँमा बाटो काट्दा आइल्याण्ड वा डिभाइडर पनि छैन, जहाँ पैदलयात्रीहरूले एकछिनको लागि भए पनि विश्राम लिन सकोस् ।
अहिले चक्रपथ पचास किलोमिटर प्रतिघण्टा गाडी कुदाउनका लागि डिजाईन गरिएको छ । यसरी पचास किलोमिटर प्रतिघण्टामा हिंडिरहेको गाडिहरूलाई छल्दै जान पक्कै पनि पैदल यात्रीहरूका लागि खतरा हुनेछ । भविष्यमा यहाँ थुप्रै दुर्घटनाहरू हुनसक्ने सम्भावना देखिन्छ । हामीले विदेशकै अनुभव हेर्न हो भने र अनुसन्धानको परिणाम हेर्न हो भने के देखिन्छ भने सबै सडकहरूमा करिब–करिब ८० देखि १०० मिटरको दुरीमा बाटो काट्नका लागि संरचनाहरू हुनुपर्छ अथवा जेब्रा व्रmसिंग हुनुपर्छ । किनभने बाटो काट्दाखेरी यदि तीन मिटरभन्दा बढी समय अथवा दायाँबायाँ हिंड्नु पर्न हो भने मानिसहरू त्यहाँ हिंड्ने कष्ट गर्दैनन्, सोझै बाटो काट्ने प्रयास गर्छन् । त्यसले गर्दा दुर्घटना हुनसक्ने सम्भावना एकदमै बढी हुन्छ ।
अर्को कुरा, साइकल यात्रुहरूका लागि चक्रपथ विस्तार गर्दा छुट्टै साइकल लेन बनाईने छ भनिएको थियो । तर अहिले त्यसो भएको देखिंदैन । दुई हप्ताअघि एउटा कार्यक्रम भएको थियो । त्यसमा चक्रपथ आयोजकका निर्देशकले अहिलेको फुटपाठमा नै पैदलयात्रु र साइकलयात्रुको लागि हो भनेर भन्नुभएछ । तर, यो संभव देखिदैन किनभने नेपालकै मापदण्डअनुसार पनि साइकल लेनको चौडाई भनेको कम्तिमा १.२ मिटर हुनुपर्छ र फुटपाठको चौडाई भनेको कम्तिमा १.५ हुनुपर्छ । त्यसैले साइकल लेन र फुटपाठ एकै ठाउँमा राख्ने हो त कमसेकम ३ मिटर त चाहियो । त्यतिले पनि खासै पुग्दैन रिङ्गरोडजस्तो ठाउँमा । फुटपाठ भनेको २.५ मिटर मात्र छ । यो साइकल लेन बनाउने एउटा राम्रो मौका थियो तर त्यसो भएकोे देखिदैन ।
त्यसैगरी, सार्वजनिक यातायातको आवश्यकता हेर्न हो भने छुट्टै लेन भयोे भने मात्र सार्वजनिक यातायात सजिलै गुड्न सक्थ्यो । र अरू नीजि गाडिहरू ट्राफिक जाममा फसिराख्दा सार्वजनिक गाडीहरूले छिटो आफ्नो सेवा दिने हो भने मानिसहरू नीजि साधन त्यागेर सार्वजनिक यातायात चढ्ने सम्भावना बढ्ने देखिन्छ । सरकारले नै बनाएको योजनामा पनि चक्रपथमा ‘द्रुत्त बस प्रणाली’ बनाउने भन्ने योजना सुन्नमा आएको थियो तर अहिलेको चक्रपथमा त्यसको खासै कुनै प्रावधान राखिएको छैन । र यसमा छुट्टै बस लेन पनि बनाएको छैन ।
हामीलाई थाहा छ, पहिलाको चक्रपथमा दायाँबायाँ २० मिटरको ग्रीन बेल्ट थियो, र यो निकै राम्रो थियो । चक्रपथ विस्तार गर्ने क्रममा पनि १,२०० भन्दा बढी रूखहरू काटिए, र सबै ग्रीन बेल्ट मासियो । त्यतिबेला थप रूख काट्ने बेलामा हामीले रोक्छौं भनेर सरकारले भनेको थियो । तर अहिले आएर हेर्दा त्यो रूख रोप्नका लागि अथवा हरियाली बनाउनका लागि खासै केही भएको देखिदैन अथवा अहिलेसम्म ठाउँ पनि देखिदैन । यसरी बाटोको किनाराको रूख काट्दा शहरको सौन्दर्यमा त कमी आउने नै भयो, वायु प्रदुषण पनि बढ्ने भयो । अध्ययनहरूले के देखाएको छ भन्दा बाटोको किनारमा हुने रूखले २५ प्रतिशतसम्म वायु प्रदुषण कम गर्न सक्छ । चौडा बाटोमा त्यो वायु प्रदुषण कम गर्न हामीसँग मौका थियो तर त्यो हामीले गुमायौं ।
यो जुन चक्रपथ निर्माण भईराखेको छ, वातावरणको दृष्टिकोणले दुई वटा समस्या छन् – एउटा अघि भनेको जस्तै वातावरणमैत्री सवारी साधनलाई प्रवध्र्दन गर्न नसकिएको । अर्को, ग्रीन वेल्टको कुरा छ, त्यसलाई हामीले मास्यौं । यो विषयलाई अहिले पनि समाधान गर्न सकिन्छ । अहिले ८० प्रतिशत काम भईसकेको छ । तर अहिलेको डिजाइनमा हामीले साधारणमात्र परिवर्तन गर्न हो भने पनि अहिलेको संरचनाहरू खासै भत्काउनु पदैन । अहिलेको अवस्थामा पनि राम्रो गर्न सकिन्छ भनेर विज्ञहरूले यससम्बन्धी जानकारी सरकारलाई दिइसकेको छ । यसमा थप अध्ययन गर्नुपर्छ भने पनि तुरून्त गरेर अहिले चक्रपथ नबन्दाखेरी नै सुधार गर्न सकिन्छ । बाँकीको चक्रपथ १७ किलोमिटर जति बाँकी छ, त्यसमा त झन् राम्रोसँग डिजाइन गरेर अगाडि बढ्न सकिन्छ । मेरो विचारमा अझै पनि धेरै गर्न सकिन्छ । आशा छ चक्रपथ विस्तार आयोजनसँग सम्बन्धित निकायले अहिले देखिएको कमी कमजोरीमा सुधार गर्नेछ र आगामी दिनमा एउटा वातावरणमैत्री शहर सिर्जना गर्नका लागि एउटा राम्रो वातावरणमैत्री सडक निर्माण गर्नेछ ।