ललितपुर–सबै नगरवासीलाई खानेपानी पु-याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ।
पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए। यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ। चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उनले बताए। ‘कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ,’ उनले भने, ‘विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ।’
नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो। त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ । नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको महर्जनले बताए। ‘नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन्,’ उनले भने, ‘तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पु-याउन सकिन्छ ।’
नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ। केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन। बस्ती बाक्लो हुँदै जाँदा नगरवासीले पानीको अभाव भोग्न बाध्य भएका हुन्। स्थानीय निकाय, प्रदेश र सङ्घको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। रासस





