काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैह्रे ‘राष्ट्रिय संरक्षण पुरस्कार–२०७५’ बाट पुरस्कृत भएका छन्।

नेपालको जैविक विविधता, वन्यजन्तु संरक्षण र सम्वर्द्धनको क्षेत्रमा सक्रिय भइ विशिष्ट योगदान पुर्याएबापत वन तथा भू-संरक्षण मन्त्रालयले डा. गैह्रेलाई आइतबार पुरस्कृत गरेको हो।
तनहुँको भिमाद नगरपालिका–५ का स्थायी बासिन्दा डा. गैह्रेलाई राष्ट्रिय संरक्षण दिवसको अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आयोजित एक विशेष समारोहमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले एक लाख ५१ हजार राशीको उक्त पुरस्कार प्रदान गरेका हुन्।
२०१७ सालमा तनहुँको भगवतिपुरमा जन्मिएका डा. गैह्रे २०४५ सालमा सहायक पशु चिकित्सक पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। यस अवधिमा डा. गैह्रे जैविक विविधता संरक्षणको बहुआयामिक पक्षहरुमा संलग्न हुनुका साथै उनले प्रजाति संरक्षणको लागि तय भएका सबैजसो वन्यजन्तु स्थानान्तरण कार्यका लागि पशु चिकित्सा विशेषज्ञकाे भूमिका निर्वाह गरेको वन मन्त्रालयले जनाएको छ।
डा. गैह्रेले जलवायु परिवर्तन, महामारी, बाढीपहिरो, खडेरी जस्ता प्राकृतिक विपत्तिबाट वन्यजन्तु र तिनको वासस्थानमा पर्नसक्ने खतराका विषयमा अनुसन्धान गर्नुका साथै दीर्घकालीन संरक्षणमा क्रियाशिल छन्।





