न्यून वातावरणीय क्षतिमा निजगढ विमानस्थल : वनमन्त्री

काठमाडाैं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गरिनुपर्ने बताएका छन्।

राष्ट्रिय संरक्षण दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘कमभन्दा कम क्षतिमा विमानस्थल बन्नुपर्छ भन्नेमा वन तथा वातावरण मन्त्रालय र सरकारको स्पष्ट दृष्टिकोण छ।’

विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच छलफल चलिरहेको जानकारी दिँदै उले दुई मन्त्रालयबीच कुनै विमति नरहेको बताए। ‘एउटा मन्त्रालयको एउटा र अर्को मन्त्रालयको अर्को धारणा छैन,’ उनले भने, ‘हाम्रो समान धारणा छ, विमानस्थल जसरी पनि बन्नुपर्छ ।’

सकारात्मक चासो, चिन्ता र जिम्मेवारी बोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवालहरुको सरकारले सम्बोधन गर्ने मन्त्री बस्नेतको भनाइ छ।  मुलुकको आवश्यकताले विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको चर्चा गर्दै मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने भएकाले विकल्पका रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागिएको सबैले बुझ्नुपर्ने बताए।

मन्त्री बस्नेतले वन तथा वातावरण संरक्षणको महत्वबारे जतिधेरै जनस्तरमा बुझाउन सकियो त्यति नै वातावरणीय परिवर्तनका दुस्प्रभावहरुको सामना गर्न सकिने धारणा व्यक्त गरे।

२०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको निधन भएको थियो। सोही दिनको सम्झनामा वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार