इलाम – नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ।
महासङ्घको आइतबार बसेको बैठकले तत्काल रु ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरेको महासङ्घका सचिव ख्याम भुजेलले जानकारी दिए।
कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ। बैठकले वार्षिकरुपमा मेचीका उदीयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष रु एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु ६० हजार रहेको छ। रासस