Sunday, November 3, 2024

भाडा बढ्याे, अग्रिम टिकट बुकिङ अझै अनिश्चित

काठमाडाैं – सरकारले यातायात व्यावसायीकाे माग पूरा गर्न सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेपनि दशैँको अग्रिम टिकट बुकिङ खुल्न सकेकाे छैन।

सरकारले रोक्का गरिदिएको बैंक खाता खोल्नुपर्ने, सवारीसाधनको भाडा समायोजन गर्नुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम बुकिङ खोल्न आलटाल गरिरहेकोमा भाडा वृद्धि भएपनि बुकिङ खुल्न नसकेकाे हाे।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय साेमबारबाटै अग्रिम बुकिङ खोल्ने बताउँछन्। ‘हिजो यातायातको भाडा समायोजन गर्ने सहमति भएको छ। भोलि मन्त्रालयबाट निर्णय परित भएसँगै नयाँ भाडादर अाउँछ र अग्रिम बुकिङ खुल्छ,’  उनले भने।

तर, महासंघका महासचिव सरोज सिटौला अग्रिम बुकिङ खोल्न अझै केहीदिन लाग्ने बताउँछन्। ‘महासंघको भोलि (सोमबार) बैठक बस्दैछ, अग्रिम बुकिङ कहिलेबाट खोल्ने भन्ने कुरा भोलिको बैठकले नै टुंगो लगाउँछ,’ उनले भने।

यातायातले भोलिबाटै खुल्ने कुरा गरेको छ, भन्दा महासचिव सिटौला भन्छन्, ‘उनीहरू त ५ गतेबाट नै खुलिसक्यो भन्छन् नि तर हामी अझै पनि छलफल मै छौँ, अब भोलीमात्र टुंगो लाग्छ कहिले खुल्छ।’

गृह मन्त्रालयले आफ्नो मागहरूलाई लिएर व्यवसायीले जनतालाई दुःख दिए कारबाही गरिने बताएपनि व्यवसायी भने अटेरी गर्दै आफूखुसी गरिरहेका छन्।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार दशैंताका काठमाडौं उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिन्छन्। दशैं नजिकिँदै जाँदा पनि अग्रिम बुकिङ नखुलेपछि सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन्। अग्रिम बुकिङ नखुलेपछि सर्वसाधारणमा घर जान पाउने हो कि होइन भन्ने अन्यौलता छाएको छ।

पढ्नुहाेस् : दसैंको मुखमा यातायातको भाडा १० प्रतिशतले बृद्धि

ताजा समाचार

सम्बन्धित समाचार