बागलुङ – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गरेका छन्।
उनले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताए। प्राविधिक विषय भएकाले विज्ञको सुझावअनुसार अघि बढ्ने जानकारी दिँदै उनले नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान निस्कने बताए।
मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमी क्षेत्रमा कृत्रिम ताल बनेको छ। तत्काललाई जोखिम टरे पनि स्थानीयवासीमा भने त्रास कायमै छ। ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ। ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि, सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ।
नेपाली सेना र सडक विभागको विज्ञ समूहले पहिरो र तालको प्राविधिक अध्ययन गरिसकेको छ। शनिबार पुगेको नेपाली सेनाको प्राविधिक टोलीले तत्काल ताल फुटाउँदा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुग्न सक्ने निष्कर्ष निकालेको छ। प्राविधिक अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइने र निर्देशनअनुसार अघि बढ्ने नेपाली सेनाले जनाएको छ।
बडिडाड थुनिएपछि पश्चिम बागलुङ र गुल्मी जिल्लाका तटीय बस्तीमा त्रास छाएको थियो। बागलुङको सिमलचौरका केही घरगोठसमेत डुबानमा परेका थिए। सोही पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन। लोकमार्ग निर्माणकर्ताले उक्त मार्ग चालु गर्न अझै केही समय लाग्ने जनाएको छ।
पहिरोका कारण पश्चिम बागलुङका तीन स्थानीय तहमा राष्ट्रिय सडक सञ्जाल टुटेको छ। पहिरो गएको ठाउँमा मानिस जोखिम मोलेर पैदल हिँडन् बाध्य छन्। स्थानीय तहले लोकमार्ग नखुल्दासम्म वैकल्पिक सडक सञ्चालनको तयारी गरेका छन्। पहिरो गएको तुरतरे क्षेत्रमा हिँडडुल नगर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ। रासस