काठमाडौँ – लामो समयदेखि चर्चामा रहेको मेलम्चीको पानी काठमाडौँको चक्रपथभित्र मात्र वितरण गरिने भएको छ। मेलम्ची खानोपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मेलम्चीको पानी काठमाडौँ आइपुगेपछि पनि चक्रपथभित्र मात्र वितरण गरिने भएको हो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्देशनायलका उपनिर्देशक दिवाकर ढकालले पहिलो चरणमा चक्रपथका भित्रि क्षेत्रमा मात्र वितरण गरिने बताए। ‘काठमाडौँमा हाल दैनिक ४० करोड लिटर खानेपानीको माग रहेको छ, तर पहिलो चरणमा १७ करोड लिटर मात्र मेलम्चीको पानी वितरण गर्न सकिने भएकाले चक्रपथ भित्र मात्र वितरण गरिनेछ,’ उनले भने, ‘साथै अहिले चक्रपथबाहिर खानेपानीको वितरण पाइप पनि बिछ्याइएको छैन् ।’
निर्देशनालयले अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौँको सुन्दरीजल आइपुग्ने दाबी गरेको छ । साथै निर्देशनालयले सिन्धुपाल्चोककै याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी सुन्दरीजल ल्याउने तयारी गरेको छ र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत तयार पारिसकेको छ । यसका लागि थप ११ किलाेमिटर सुरूङ खन्न पर्नेछ ।
३ सय किमि पाइप बिछ्याउन बाँकी
निर्देशनालयले मेलम्चीको पानी वितरण गर्न काठमाडौँ भित्र अझै ३ सय किलोमिटर पाइप बिछ्याउन बाँकी रहेको र ६ महिनाभित्रमा बिछ्याइसक्ने बताएको छ । अहिलेसम्म ७ सय ३० किलोमिटर पाइप बिछ्याइएकोमा अब ३ सय किलोमिटर पाइप बिछ्याउन र बिछ्याइएको ८५ किलोमिटर सडकमा कालोपत्रे गर्न बाँकी छ।
मेलम्चीको खानेपानी वितरण गर्न काठमाडौंको ३ सय किमि सडकमा वितरण सञ्जालको पाइप बिछ्याउन अझै बाँकी रहेको छ।
वितरण सञ्जालको जम्मा १ हजार १ किमि पाइपमध्ये हालसम्म कार्यालयले ७ सय ३० किमि पाइपमात्र बिछ्याएको छ । “यो सबै पाइप बिछ्याउनलाई ६ महिना लाग्ने देखिन्छ,” उपनिर्देशक ढकालले भने, “पाइप बिछ्याएको करिब ८५ किमि सडकमा कालोपत्रे गर्न बाँकी रहेको छ।”
ढलको पानी प्रशोधन गरिने
निर्देशनालयले काठमाडौँ उपत्यकाका ढल तथा नालाका पानीलाई प्रशोधन गरेर मात्र खोलामा खसाल्ने तयारी रहेको बताएको छ । ‘उपत्यकाको विभिन्न ४ स्थानमा पानी प्रशोधन गरी नजिकैको खोलामा खसाल्ने तयारी छ । र यसका लागि प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उपनिर्देशक ढकालले भने, ‘अहिले धोबिघाट, गुहेश्वरी, सल्लाघारी र बालकुमारीमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ र त्यसको काम अन्तिम चरणमा पुगेको छ ।’
ढलको पानी प्रशोधन गरेर खोलामा पठाउँदा खोलाहरू स्वच्छ हुने र वातावरणमा पनि सकारात्मक असर पर्ने उनको दाबी छ ।





