दमौली– तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् ।
यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिए । “विसं २०५२÷५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भने ।
त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१÷७२ देखि भने कफीको राम्रो माग रहेको उनले बताए ।
यस ठाउँका २७ कृषकले कफीखेती शुरु गरेका छन् । बालकेश आधारभूत विद्यालयमा प्रधानाध्यापकसमेत रहनुभएका कफी कृषक आशकुमार गुरुङले आर्थिक रूपमा सवल बन्न कफीखेती शुरु गरिएको बताए । “शिक्षण पेशा छाडेपछि पूर्णरूपमा यही खेतीमा आबद्ध हुनेछु”, उनले भने , “छिपछिपेलाई कफी र सुन्तलाको पकेटक्षेत्र बनाउने सोच छ ।”
समूहका अध्यक्ष तुलबहादुर गुरुङले छिपछिपेमा ५० रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको बताए । उनका अनुसार छिपछिपेबाट गत आवमा ६ क्विन्टल कफी बिक्री भएको थियो । प्रतिकिलो रु ५०० का दरले कफी बिक्री भएको उनले जानकारी दिए ।
कृषकले उत्पादन गरेको कफी तनहुँ कफी व्यवसायी सङ्घलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यहाँ उत्पादित कफी अमेरिका, जापान, जर्मनलगायतका युरोपियन देशमा निर्यात हुने गरेको छ । अर्गानिक पद्धतिबाट गरिएको कफीको विदेशमा राम्रो माग रहेको छ । मङ्सिरदेखि फागुनसम्म कफी टिप्न शुरु गरिने र वैशाख जेठमा बिक्री हुने गर्दछ ।
बाख्रापालनमा आकर्षण
परम्परागत रूपमा बाख्रा पाल्दै आएका तनहुँको भिमाद नगरपालिका–९ भानुमतीका श्रीमाया आलेले विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । पहिला ५÷६ वटा बाख्रा मात्रै पाल्दै आएकी आलेसँग हाल २५ बाख्रा छन् ।
सामान्य खोरमा बाख्रापालन गर्ने आलेले व्यावसायिक रूपमा बाख्रापालन थालेपछि लाखौँको खर्चमा सुधारिएको खोर समेत रहेको बताए । विसं २०७१ असारदेखि हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा व्यास गरिबी न्यूनीकरणका लागि व्यावसायिक पशुपालन परियोजना सञ्चालन भएपछि आले व्यावसायिक बाख्रापालनमा लागेका थिए ।
उनले रु १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरे । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँसमेत बनाइएको छ । खोरमा दाना खुवाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ । आलेलाई बाख्रापालनका लागि उहाँका श्रीमान टेकबहादुर आलेले समेत सहयोग गर्दैै आएका छन् ।
बाख्रापालनका लागि आले परिवारले १५ रोपनी क्षेत्रफलमा घाँसखेती समेत गरेको छ । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुइँघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्रि र मोलाटो जातका घाँसखेती गरिएको उनले बताए ।
बाख्राको व्याड बोका र खसी बेचेर वार्षिक रु २ लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको आलेले बताए । “परियोजना सञ्चालनपछि व्यावसायिक रूपमा बाख्रापालन गर्न उत्प्रेरणा जाग्यो”, उनले भने । व्याड बोका प्रतिकिलो ८०० का दरले (जिउँदो), खसी रु ३८० र पठेग्री रु ३५० का दरले बिक्री हुने गरेको छ ।
सोही ठाउँका शिवकुमार आलेले ५०, नरमाया थापाले २५, दिलमाया थापाले २५, दिलकुमार थापाले २५ र चन्द्रमाया आलेले २५ बाख्रापालन गरेका छन् । उक्त ठाउँका १५८ परिवार नै बाख्रापालनमा आबद्ध छ । सबैजसोले २० भन्दा बढी बाख्रा पालिरहेका छन् ।
उक्त ठाउँमा सात समूह गठन गरी बाख्रापालन शुरु गरिएको थियो । दिदीबहिनी जनजागरण सामुदायिक संस्था, दिदीबहिनी जनजागरण आयआर्जन उपहार समूह, मिलन महिला आयआर्जन उपहार समूह, हरियाली आयआर्जन उपहार समूह, सिर्जन आयआर्जन उपहार समूह, शितला आयआर्जन उपहार समूह, नमूना महिना आयआर्जन उपहार समूह गठन गरी महिलालाई आबद्ध गराई बाख्रापालन शुुरु भएको थियो । (रासस)





