नेपालमा सामुन्द्रिक अाँधीकाे प्रभाव, हिमपातको सम्भावना

काठमाडौं–बंगालको खाडीबाट बिहीबारबाट शुरु भएको  ‘डाय’ नामक सामुन्द्रिक आँधीको प्रभाव नेपालमा पनि परेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार डायको प्रभावका कारण नेपालमा मौसममा बदली भइ हल्कादेखि भारी वर्षा हुने र हिमाली क्षेत्रमा हिमतापको सम्भावना रहेको छ।

‘बिहीबार रातिदेखि डायको प्रभाव परेको छ, उत्तरपश्चिमतिर सर्ने क्रम जारी छ,’ हाकाहाकीसँग कुरा गर्दै मौसमविद् कँडेलले भनिन्, ‘पश्चिमी भेगमा भारी वर्षा हुनसक्छ, भने हिमाली क्षेत्रमा हिमपात।’

डायको प्रभावका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षा र हावाहुरी भइरहेको उल्लेख गर्दै मौसमविद् कँडेलले भनिन्, ‘हिमपातको सम्भावना रहेपनि आत्तिहाल्नुपर्ने अवस्था भने छैन।’ डायको प्रभाव अाइतबारदेखि क्रमश निस्क्रिय हुँदै जाने उनले बताइन्।

यसैबीच, बाढीपूर्वानुमान शाखाले बुलेटिन जारी गरी शुक्रबार नारायणी जलाधारको पहाडी क्षेत्रमा केही स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावनाा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैगरी, शनिबार पश्चिम तराईको कैलाली, कञ्चनपुरका ससाना खोलानालामा आकस्मिक बाढी आउने र आइतबार देशका अधिकांश नदीनालामा सामान्य बहाव बढ्ने सम्भावाना रहेको शाखाले पूर्वानुमान गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार