काठमाडौं–सरकार र यातायात व्यवसायीबीच ३१ भदौमा भएकाे सहमति अनुसार शुक्रबार (५ असाेज) बाट दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने थियो। तर, टिकटको अग्रिम बुकिङ खुल्ने भनिएको एक दिन अघि बिहीबार यातायात व्यावसायीले सहमति तोड्दै नयाँ निर्णय गरेका छन्।
सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको हो।
महासंघका महासचिव सरोज सिटौलाले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएपनि सुनुवाइ नभएपछि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय भएको जानकारी दिए।
नेपाल आयल निगमले १ असोजमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।
तर, यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने दसैंको अग्रिम बुकिङ शुक्रबारबाटै खुल्ने दाबी गरेका छन् मूल्यवृद्धिको विषय सरकारले सम्बोधन गर्ने उल्लेख गर्दै उपाध्यायले अग्रिम टिकट बुकिङ हुने जिकिर गरे।
सम्बन्धित समाचार





