बागलुङ–गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ ।
सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास आन्तरिक तथा बाह्य पर्यटक तान्ने मुख्य आकर्षण बनेको छ ।
पछिल्लो समय दैनिक १०० भन्दा बढी पर्यटक सो घरबासमा पुग्ने गरेका छन् । “प्रचार भएपछि पाहुना पनि बढेका छन्”, घरबास सञ्चालक अप्सरा थापाले भनिन्। जिल्लामा आउने विशिष्ट व्यक्तित्व पनि रात बस्ने गरी नै घरबास जाने क्रम बढ्दो छ । बागलुङ नगरपालिका–१० मा पर्ने भकुण्डेका नौ घरमा सञ्चालित घरबासमा दैनिक ५० भन्दा बढी पाहुना राख्ने क्षमता छ ।
सङ्घसंस्थाको अध्ययन, अवलोकन भ्रमणको लागि पनि घरबास गाउँ छनोटमा पर्न थालेको छ । व्यक्तिगत तथा पारिवारिक घुमफिर र घरबासको अनुभव लिन आउने पनि उत्तिकै छन् । “बिदाको दिनमा पाहुना बढी हुन्छन्, विदेशी पर्यटक पनि विस्तारै आकर्षित हुँदैछन्” घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । “मौसमअनुसारका स्थानीय परिकार खुवाउँछौँ” अध्यक्ष थापाले भने । मकै, गहुँ, कोदो, फापर, आलु, च्याउ, सिस्नोलगायतबाट बनेका परिकार यहाँको घरबासमा उपलब्ध छ । स्थानीय खसीबोका, कुखुरा, सुँगुरलगायतका विभिन्न मासुसमेत यहाँ खान पाइन्छ ।
जङ्गलमा पाइने हलहले, बोके, जरिङ्गो, खोले, कर्कलो, बाँकोको साग पनि घरबासमा उपलब्ध हुने गर्छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ । यहाँ आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक नजिकका पर्यटकीय गन्तव्यले आकर्षित गर्ने गरेको छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित मुलाबारीको ‘भ्यूटावर’ सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
त्यहाँबाट अन्नपूर्ण, माछापुछ«े, धवलागिरिलगायतका दर्जन बढी हिमशृङ्खला देखिने स्थानीयवासी उमाकान्त शर्माले बताउनुभयो । त्यस क्षेत्रमा अवस्थित सङ्ग्रहालय, बराहताल, बराह मन्दिर, कुथुकर्मको लेक, भैरब मन्दिरलगायत गन्तव्य घुम्न सकिन्छ । “दुई दिनको घुम्ने योजना बनाउँदा सबै ठाउँ पुग्न सकिन्छ” शर्माले भने ।
घरबास आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ । मगर जातिको बाहुल्य रहेको भकुण्डेमा झ्याउरे, सालैजो, यानिमायाजस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । मगर समुदायको पञ्चेबाजा, भजनलाई पनि जोगाएर राखिएको छ ।
पर्यटकलाई स्वास्थ्य, सरसफाइ, खानेपानी, विद्युत्, शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ । सडक र खानेपानीको सुविधा बढाउन नगरपालिका र वडाबाट विशेष योजना ल्याइएको वडाअध्यक्ष प्रेमबहादुर थापामगरले बताए। “पर्यटकीय पूर्वाधार बनाउनु जरुरी छ” उनले भने, “भकुण्डे आउने पर्यटक सन्तुष्ट भएर फर्कने वातावरण बन्नुपर्छ ।”
उहाँले यही वर्ष भकुण्डे जोड्ने दुई सडकमा डेढ करोड बजेट छुट्टिएको बताए । सदरमुकाम बागलुङ बजारदेखि एक घण्टाको मोटर र तीन घण्टाको पैदलयात्रामा भकुण्डे पुग्न सकिन्छ । विसं २०६८ मा शुरु भएको घरबास २०७३ मा पर्यटन कार्यालय पोखरामा दर्ता भई आधिकारिकरुपमा सञ्चालन भइरहेको छ । रासस





