काठमाडौं– सरकारले पिउन योग्य पानी परीक्षणका लागि थप पाँच वटा प्रदेशमा ‘वाटर एम्बुलेन्स’ राख्ने भएको छ।
खानेपानी तथा ढल निकास विभागले पिउन योग्य पानीको परीक्षणका लागि प्रदेश २, ५, ७, गण्डकी र कर्णाली प्रदेशमा ‘वाटर एम्बुलेन्स’ राख्ने तयारी गरेको छ।
विभागका सूचना अधिकारी पूर्णप्रसाद उपाध्यायका अनुसार ती प्रदेशका लागि ‘वाटर एम्बुलेन्स’ खरिद गरिसकिएको छ। प्रदेश १ र ३ मा भने यसअघि नै ‘वाटर एम्बुलेन्स’ छन्।
प्रदेश १ मा आर्थिक वर्ष २०७२-०७३ देखि वाटर एक्बुलेन्स प्रयोगमा आएमा प्रदेश ३ मा चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । गत असार २७ र २८ गते अविरल वर्षाका कारण भक्तपुरमा बाढी आउँदा वाटर एम्बुलेन्सको प्रयोग गरिएको थियो।
उनका अनुसार वाटर एम्बुलेन्सका लागि चाहिने आवश्यक उपकरण अहिले युनिसेफले जडान गरिरहेको छ। उपकरण जडान पश्चात यी पाँचवटै वाटर एम्बुलेन्स बाँकी पाँच प्रदेशमा पठाइने छ।
‘यो एम्बुलेन्स गरेर विपद्का बेलामा खानेपानी परीक्षण गरी खानयोग्य भए नभएको पत्ता लगाउन प्रयोग गरिँदै आएको छ,’ उनले भने, ‘आवश्यक परेमा सर्वसाधरणको घरदैलोमा पुगेर पनि परीक्षण गर्न सकिन्छ ।’
वाटर एम्बुलेन्सले आपतकालीन अवस्थाका बेला जस्तैः बाढीपहिरो र भुकम्प जस्ता विपद्को समयमा पानी आउने स्रोतको तत्काल परिक्षण गरि दूषित पानीलाई शुद्धीकरण गर्न प्रयोग हुने सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।





