अछाम-जिल्लाको पञ्चदेवल–बिनायक नगरपालिकाका जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्न पानीका मुहान संरक्षण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको छन्।
नगरपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेपछि यहाँका बासिन्दा पानीको चरम समस्या खेप्दै आएका छन्। विशेषगरी हिउँदयाम गर्मीयाममा पानीका मुहान सुक्ने गरेका छन्।
पानीको मुहान संरक्षणका लागि ‘पानी छलफल’ कार्यक्रममा जनप्रतिनिधिले मानिस लगायत जलचर एवं गाईबस्तुलाई पहिलो आवश्यकता पानीको भएको भन्दै अन्य विकास निर्माणका कामभन्दा सबै नागरिकलाई स्वच्छ पानी उपलव्ध गराउने काम पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका हुन्।
‘नगरक्षेत्रभित्रको जल गुरूयोजना निर्माण गरी पिउने पानीको समस्या झेल्दै आएका नगरबासीलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न लाग्छौं,’ पञ्चदेवल– बिनायक नगरपालिकाका मेयर देवराज देवकोटाले भने, ‘मुहान भएका ठाउँमा मुहान व्यवस्थित गर्ने र मुहान नभएका ठाउँमा छिमेकी गाउँबाट भएर पनि पानी ल्याउने गरी योेजना बनाउने छौं।’
नगरपालिकाका केही गाउँमा निकै टाढाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेकाले प्रदेश सरकारसँग बजेट माग गरिएको देवकोटाले जनाए।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आयोजना गरेको छलफल कार्यक्रममा मेयरसहित सबै वडाका अध्यक्षले कुनै पनि विकास निर्माणका योजना निर्माण गर्दा पानीका मुहान जोगाउने गरी निर्माण गरिने लगायतका प्रतिवद्धतासमेत व्यक्त गरे।
खानेपानी आयोजना निर्माण गर्दा अहिले मुहानमै इन्टेक निर्माण गर्ने प्रचलन रहेकोले मुहान सुक्ने सम्भावना बढेको भन्दै सरोकारवालाले मुहानभन्दा कम्तिमा पनि २० मिटर टाढा मात्र इन्टेक निर्माण गर्नुपर्ने सुझाव दिए।
विशेषगरी वडा नम्बर ४ र ५ मा खानेपानीको समस्या बढिरहेको स्थानीयको गुनासो छ। वडा नम्बर ४ को कालिकास्थानमा छिमेकी कुईकाबाट पानी लगेको र आयोजना निकै पुरानो भएकाले मर्मतसम्भार गर्न लाखौं बजेट चाहिने वडा अध्यक्ष सज्जनबहादुर शाहीले बताए। २०५२ सालमा बनेको योजना जीर्ण हुनुका साथै जनसंख्यासमेत बढेकाले पानीको निकै अभाव रहेको उनले औँल्याए।
यस्तै वडा नम्बर ५ लयाँटीकी गौरा चन्दले पानीको अभावमा निकै टाढाको खोलामा लेदो मिसिएको पानी पिउनुपर्ने बाध्यता सुनाइन् ।
वडा नम्बर ३ की जानकी अधिकारीले धारामा पानीको मात्रा निकै घटेकाले दिनहुँजसो पानी थाप्नकै लागि समेत किचलो हुने गरेको बताइन्।
प्रदेशसभा सदस्य अम्विकुमारी थापाले पानीको निकै समस्या रहेको गाउँमा योजना निर्माणका लागि प्रदेश सरकार समक्ष माग राख्दै आएको बताइन्। वडा नम्बर ९ पुल्लेतोलामा चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले एक करोड खानेपानी आयोजना निर्माणका लागि विनियोजन गरेको भन्दै थापाले थप योजनाका लागि पनि आफूहरू लागि पर्ने प्रतिवद्धता जनाइन्। ‘हामी कहाँ वर्षाको पानी संकलन गर्ने नयाँ प्रविधि भित्रिएको छैन, अब त्यसको प्रयोग पनि छिट्टै गर्न हामी प्रयासरत छौं,’ उनले भनिन्।
अन्य प्रदेशमा जस्तै प्रदेश नम्बर ७ मा पनि रिर्चाज पोखरी बनाउने विषयमा सम्बन्धित निकायसँग कुराकानी गर्ने उल्लेख गर्दै उनले भनिन्, ‘रिचार्ज पोखरी निर्माण गर्न सके पानीका मुहान संरक्षण गर्न सकिदोरहेछ ।’
अछाम जिल्ला मध्यकर्णाली जलाधार क्षेत्र अन्र्तगत पर्दछ। छलफल कार्यक्रममा डडेलधुराको रंगुन खोला जलाधार विशेषज्ञ रोशन भट्टले पानी परियोजना तथा यसले गर्ने कामका बारेमा प्रकाश पारेका थिए।
पानी छलफल संयोजक अमृता केसीले सहजीकरण गरेको कार्यक्रममा पत्रकार शिवराज खत्रीले अछाममा खानेपानी सुख्खापनको अवस्थाका बारेमा जानकारी गराएका थिए।
सुख्खापन र पानीका मुहान सुक्ने समस्याका विषयमा केन्द्रित रहेको पानी छलफलमा निम्नलिखित बुँदामा प्रतिबद्धता व्यक्त गरिएको छ :
–पानीका मुहान नसुक्ने गरी विकास निर्माण गरिने छ।
–खानेपानीका योजना निर्माण गर्दा पानीका मुहान संरक्षण हुने गरी पानीका मुहान भन्दा २० मिटर टाढा इन्टेक निर्माण गरिने छ।
–जंगल नमासिने गरी विकास निर्माण गरिनेछ।
–नगरक्षेत्र भित्रका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानीलाई पहिलो प्राथमिकतामा राखिनेछ।
–नगरक्षेत्र भित्रका केही वडामा यस अघि निर्माण भएका जल गुरूयोजनाको कार्यान्वयन गर्ने र बाँकी वडामा पनि गुरूयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
–पानीको मुहान संरक्षण र वनजंगल संरक्षणका लागि डोजरको अनियन्त्रित प्रयोग रोकिनेछ।
–स्वच्छ पानी उपलब्ध गराउन प्रदेश सरकारसँग योजना निर्माणका लागि पहल गरिनेछ।
–खानेपानीका योजना निर्माण गर्दा दीर्घकालसम्म टिक्ने गरी निर्माण गरिनेछ।
–प्राकृतिक स्रोत संरक्षणका लागि वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ।
–वर्खाको पानी संकलन गरी हिउँदमा प्रयोग गर्न अन्यन्त्र प्रयोगमा ल्याइएका उपयुक्त विधिको प्रयोग गरिनेछ।
–खानेपानीका योजना साथै कुनै पनि विकास निर्माणका योजनामा आफू पनि एक रुपैयाँ भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न दिने छैनौं।





