Saturday, November 2, 2024

टनेलमा तरकारीखेती, वर्षेनी लाखाैँकाे अाम्दानी

मेलम्ची – मेलम्चीनगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरे । व्यावसायिक रुपमा गोलभेँडा खेती गर्नुभएका गिरीले यस वर्ष चार टनेल थपे। उनले गोलभेँडा प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन्।

टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा रु ४९ हजार नाफा कमाए। टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा झण्डै १० गुणा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । “टनेलमा पहिलो पटक तरकारी खेती गरेको हुँ । एउटा याममा खर्च कटाएर रु २० हजार नाफा भयो,” गिरीले भने।

पचास प्रतिशत अनुदानमा चार टनेलका लागि प्लास्टिक खरीद गरी गिरीले पाँचै टनेलमा थोपा सिँचाइ सेट जडान गरेका छन्। जिल्ला कृषि विकास कार्यालयले दुई तथा केयर नेपाल र आत्मनर्भर केन्द्रको जीविकोपार्जन सुपर परियोजनाले दुई टनेलका लागि प्लास्टिक ५० प्रतिशत अनुदानमा किनेको गिरीले बताए।

उनी भन्छन्, “टनेलमा थोपा सिँचाइमार्फत खेती गर्दा थोरै पानीले सिँचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइने र उत्पादन पनि दशौँ गुणा बढ्ने रहेछ ।” केउरानीमै कृषिउपज सङ्कलन केन्द्र भएकाले बजारको समस्या छैन ।

विसं २०७३ मा पहिलो पटक गोलभेँडाबाट रु १८ हजार नाफा लिएको गिरी बताउँछन् । संस्थाले निःशुल्करुपमा तरकारीको बीउ, टनेल निर्माणका लागि प्लास्टिक, केही कृषि औजार, थोपा सिँचाइ सेट र व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम उपलब्ध गराएपछि तरकारी खेती गर्न सहज भएको हो।

जिल्लामा गोलभेँडा खेतीमा गिरीसँगै ४०० भन्दा बढी किसान आबद्ध छन्। बीउबिजन तथा सामग्री सहयोग पाएपछि किसान तरकारी खेती गर्न उत्प्रेरित भएका छन्। टनेल वरपरको जग्गामा अलैँची, भेडे खुर्सानी, भण्टाका साथै किबी, अनार, कागती, अलैँची, जुनार, नास्पातीलगायतका फलफूलसमेत किसानले लगाउने गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार