लमही – राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईलेन बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडौँ जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ।
पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई दुई लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए।
दैनिक एक सयभन्दा बढी ठूला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईलेन बनाउन शुरु भएसँगै केही समय सवारी आवागनमा समेत बन्द गरिएको छ। सूचना अधिकारी गौतमका अनुसार मङ्गलबार बिहान ७ बजेदेखि ११ बजे, मध्यान्ह १२ बजेदेखि ४ र बेलुका ६ देखि ९ बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको छ।
अमिलिया–तुलसीपुर सडकखण्डको दुई किलोमिटर उत्तरदेखि सात किलोमिटरसम्म दुईतर्फी सवारी चल्ने छ। केएस कन्ट्रक्सनले २०७६ पुस मसान्तसम्म पूरा गर्ने गरी दुईतर्फी सडक बनाउन रु १३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी गौतमले बताए। रासस