काठमाडौँ – विगत लामो समयदेखि चलिरहेको यातायात व्यवसायी र सरकारबीचको विवादको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् ।
लामो समयदेखिको अन्यौल अन्त्य गर्दै सरकार र यातायात व्यवसायी असोज ५ देखि टिकट बुकिङ खुला गर्ने सहमति पुगेका थिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने चेतावनी दिएपछि अग्रिम टिकट बुकिङमा फेरि अन्यौलता देखिएको हो। सरकार र यातायात व्यवसायीको विवादले दशैँ मनाउन उपत्यका बाहिर जाने तयारीमा रहेका हजारौँ सर्वसाधारण अन्यौलमा परेको छन्।
भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो। तर सरकारले असोज १ गते राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएपछि महासंघ बिच्किएको छ।
सरकारले पेट्रोलमा दुई र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको छ। महासङ्घले मङ्गलबार साँझ प्रेस विज्ञप्ति जारी गरी चाडबाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएकोे भन्दै फिर्ता लिन चेतावनी दिएको हो।
महासंघका महासचिव सरोज सिटौला सरकारले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिन खोजेको र अग्रिम बुकिङको लागि असहज बनाएको बताउँछन्। ‘मूल्यवृद्धि फिर्ता नगरेसम्म हामीले कसरी अग्रिम टिकट बुकिङ खोल्नु यो त सक्दै नसकिने कुरा हो’ उनले भने। महासंघले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए अग्रिम टिकट बुकिङ नखोल्ने जनाएको छ।
हप्तौको वार्तापछि किनारा लागेको विषय फेरि पनि खोलाको बीचमै पुगरे अड्केको छ। यसअघि भाडा समायोजन, रोक्का गरिएको बैंक खाता खोल्नुपर्नेलगायतका माग गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न मानेका थिएनन्। भदौ ३१ गते यस विषयमा सहमति जुटेपछि अग्रिम बुकिङ खुल्ने भएको थियो। तर, व्यवसायीले अहिले फेरि अर्को बखेडा झिक्दै अग्रिम बुकिङलाई अनिश्चित बनाएका छन् ।
यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण परेका छन्। पहुँच भएकाहरूले पहिले नै भित्रभित्रै बुकिङ गरिसकेको र सोझा जनता भने हेरेको हेरै भएको सर्वसाधारणको भनाई छ। ५ गतेबाट अग्रिम बुकिङ खोल्ने भने पनि पहुँच भएकाहरू र कालोबजारीहरूले भित्रभित्रै सबै टिकट बुकिङ गरिसकेको गुनासो समेत आउन थालेको छ। यसरी सरकारले महिनैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विषयलाई लिएर व्यवसायीले बार्गेनिङ गरेपछि सर्वसाधारणमा दशैँमा घर जान पाइने हो नि होइन भन्ने चिन्ता बढेको छ।