ओझेलमा धार्मिक तथा पर्यटकीयस्थल लब्रेकुटी

हिलिहाङ–धार्मिक तथा पर्यटकीयस्थलको रूपमा परिचित लब्रेकुटी प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । फिदिम नगरपालिका वडा नं ५ र ३ को सङ्गमस्थलमा अवस्थित यो ठाउँको प्रचार एवं पूर्वाधार तयार गरी पर्यटकीय गन्तब्य बनाउनुपर्ने वडा –३ का वडाध्यक्ष नरेन्द्र गुरुङ बताउछन् । त्यसका लागि गुरुयोजना बनाएर काम गर्न लागिएको उनले बताए ।

पहाडको टाकुरामा रहेको यहाँबाट उत्तरमा सगरमाथा, कञ्चनजङ्गा र कुम्भकर्णसहितका हिमशृङ्खलाको मनोरम दृश्य देखिन्छ । सदरमुकाम फिदिम नगरपालिका–५ मा अवस्थित यहाँ पाँचथर र इलामका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

मेची राजमार्गको इलाम–फिदिम सडकखण्डको कान्छी दोकान बजारबाट यो दुई किलोमिटरको दूरीमा पर्दछ । किराँत धर्मगुरु तथा महान् समाज सुधारक फाल्गुनन्द लिङदेनले तपस्या गरी सत्यधर्म मुचुल्का घोषणा गरेका हुनाले किराँत धर्मावलम्बीका लागि यो पवित्र स्थल भएको वडाध्यक्ष लीलाराज तुम्बापोले बताए। किराँत धर्मालम्बी मात्र नभएर अन्य मानिस पनि महागुरु फाल्गुनन्दप्रतिको श्रद्धाले यहाँ आउँछन् ।

महागुरु फाल्गुनन्दले किराँत समुदाय अगाडि बढ्नपर्ने सन्देश समेटेर सात बुँदे ‘सत्यधर्म मुचुल्का’ यहीबाट घोषणा गरेका थिए । यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लिम्बू भाषा र संस्कृतिको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था समेत लागिपरेका छन् । फिदिम नगरपालिकाले गुरुयोजना तयार गरेर पर्यटकीय गन्तव्य बनाउने काम अघि बढाएको छ ।

लब्रेकुटी नगरपालिका क्षेत्रभित्रको सुन्दर ठाउँ भएकाले गुरुयोजना बनाएर विकास गर्ने योजना रहेको फिदिम नगरप्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए ।

गत कात्तिक २५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा फाल्गुनन्दको १३३औँ जन्मजयन्तीको अवसरमा यहाँ आउँदा लुम्बिनी विकास कोषजस्तै संरचना बनाएर यस क्षेत्रको विकास गर्ने घोषणा गरेपछि यहाँका जनता उत्साहित बनेका थिए । किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुरेन्द्रप्रकाश जवेगू यो क्षेत्रमा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको टिप्पणी गरे । रासस

ताजा समाचार

सम्बन्धित समाचार