करिब २० प्रतिशत व्यक्तिहरूले औषधीको सेवन गलत तरिकाले गरिरहेका हुन्छन् – झण्डै पाँच जनामा एक जना । यो ठुलो समूह हो ।
डा. प्रकाशराज रेग्मी
हिजोआज औषधी नखाने मान्छे भेट्न एकदमै ग्राहो छ ।प्रत्येक व्यक्तिले कुनै न कुनै औषधी नियमित रूपमा सेवन गरेकै पाइन्छ । अहिले त नसर्ने रोगबाट पीडित थुप्रै हुनुहुन्छ । ब्लड प्रेसर,सुगर,ग्याष्टिक,कोलेस्टेरोल,थाइराइडयि थुप्रै रोगहरू एउटै मान्छेलाई भईरहेको हामी देख्छौं । त्यसैले यसरी नसर्ने रोगहरूबाट पीडित व्यक्तिहरू त कसै कसैले पाँच वटा,दश वटा,पन्ध्र र कसै कसैले त बीस वटासम्म औषधीहरू दैनिक रूपमा सेवन गरिरहेको हामी भेट्छौं ।
डाक्टरले पूर्जामा औषधी लेखिदिन्छन्,प्रेसक्रिप्सन बनाइदिन्छन् । धेरैजना डाक्टरहरूको त अक्षर राम्रोसँग बुझिदैन तर पनि त्यो पूर्जा औषधी पसलमा बिरामीले लिएर जान्छ । अर्थात् तपाईहरूले लिएर जानुहुन्छ । पसलमा औषधी बेच्नेले त्यो पूर्जामा लेखिएको औषधी दिन्छ । र उसले कुन चाहिं औषधी कतिपल्ट खाने,त्यसको मात्रा कति हो, कतिबेला खाने, अगाडि पछाडि कुन बेला खाने,खान अगाडि खाना पछाडि भन्ने कुरा उसले औषधीको पत्ताको बाहिर मार्कर पेनले अथवा धेरै औषधी किनेको छ भने औषधीको बाहिर बट्टाकोबाहिर मार्कर पेनले गोलो÷गोलो औषधीको चक्कीजस्तो बनाएर यतिपल्ट खाने भनेर लेखिदिन्छ । तपाईंले चाहिं टाउको हल्लाएर ल बुझें भनेर औषधी लिएर घर जानुहुन्छ । अब यदि औषधी पसलेले सम्झाउन गल्ती गरेको रैछ र डाक्टरले लेखेको पूर्जालाई राम्रोसँग बुझेन भने पनि उसले त्यहाँ गलत प्रकारले सम्झाउँछ । अथवा उसले सम्झाएको ठिक भएपनि तपार्इंले गल्ति गरेको हुनसक्छ । त्यसले के गर्छ भने धेरैथरी औषधी खाइरहेकाहरूलार्इृधैरै समस्या पर्छ ।
मेरो अनुभवमाकरिब २० प्रतिशत व्यक्तिहरूले औषधीको सेवन गलत तरिकाले गरिरहेका हुन्छन् –झण्डै पाँच जनामा एक जना । यो ठुलो समूह हो । कसैकसैले गलत औषधी खाइरहनु भएको छ,डाक्टरले पूर्जामा एउटा औषधी लेखेको हुन्छ तर अर्को औषधी खाइरहेको हुन्छ ।कसैले एकपल्ट खानुपर्छ भनेको औषधी दुईपल्ट खाइरहेका हुन्छन् । कसैले दुईपल्ट भनेको औषधी एकपल्ट खाइरहेका हुन्छन् । कसैले खानाअगाडि खानुपर्छ भनेको औषधी खानापछाडि खाइरहनु भएको हुन्छ । यस्ता त्रुटीहरू झण्डैझण्डै औषधी सेवन गर्नेहरूमध्ये २० प्रतिशत व्यक्तिहरूरहेको मैले पाएको छु ।
बिरामीहरूले औषधी गतल तरिकाले खानुको पछाडिका कारणमा एउटा त डाक्टरको पूर्जामा राम्रोसँग, स्पष्टसँग नलेखिनु डाक्टरको दोष हो । अर्को, औषधी विक्रेताले डाक्टरको पूर्जामा लेखिएअनुसार औषधी नदिने, पूर्जामा लेखिएअनुसारको जानकारी बिरामीलाई ठिक तरिकाले नदिने अर्को दोष हो भने केही दोष भने तपाईंहरू आफै, बिरामी जसले औषधी खानु हुन्छ । यो कुरामा तपार्इंहरूको पनि दोष छ । के कुरामा दोष छ भने तपाईंहरूले पनि औषधी पसलेले जे भन्छ त्यहिअनुसार उसले गल्ति भनेको रहेछ भनेपनि त्यही गल्ति टिपेर जानुहुन्छ । आफुले डाक्टरी पूर्जामा लेखिएको कुरा पसलेले ठिक औषधी दियो कि दिएन, उसले ठिक तरिकाले बतायो कि बताएन र डाक्टरको पूर्जामा बुझ्न सक्ने इच्छा तपाईंहरूले राखेको देखिंदैन । बिरामी आफैको पनि कतिपय दोष छ । औषधी कुन मात्रामा खाने,कतिपल्ट खाने, कुन बेलामा खाने,खानाअघि खाने कि खानापछाडि खाने,पानीसँग खाने कि दुधसँग खाने,फलफूलको रससँग खाने – यी सबै एकदमै ब्यवहारिक कुराहरू हुन् । यससम्बन्धमा सबैले राम्रोसँग बुझ्न जरूरी छ ।
यससम्बन्धमा मेरा केही धारणाहरूराख्न चाहन्छु । कतिपय त बिरामी आफैले औषधी खान सक्नुहुन्न । जस्तै बालबालिकाहरू,अति बृद्धा नागरिकहरूले अरूको सहयोग लिनु पर्ने हुन्छ । त्यसैले ति सहयोगीहरूले पनि औषधीहरूको बारेमा राम्रोसँग बुझ्न जरूरी हुन्छ ।
त्यसैले औषधी सेवनको विधिबारे बुझौं । पहिले त डाक्टरको पूर्जालाई हामीले आधार मान्नुपर्छ, बिक्रेताले भनेको कुरामा होइन, डाक्टरको पूर्जालाई आधार मान्नुपर्छ । कतिपय औषधी पसलमा नपढेका व्यक्तिहरू पनि औषधी बेच्न बसेका हुन्छन् । लाइसेन्स एउटाको झुण्डेको हुन्छ, औषधी अर्कोले बेचिरहेको हुन्छ । त्यसैले पहिलो कुरो, हामीले आधार चाहिं डाक्टरको पूर्जा बनाउनुपर्छ र डाक्टरको पूर्जा लिंदा हामीले डाक्टरसँग एउटा कुराको डिमाण्डनै गर्नुपर्छ –औषधीको पूर्जामा राम्रोसँग, स्पष्टसँगबुझिने गरि लेखिदिनुस् भनेर । औषधी पनि र औषधी खाने तरिका पनि एकदमै सरल बुझिने भाषामा लेखिदिनु प¥यो भन्ने कुराको माग नै गर्नुपर्छ ।
दोस्रो कुरा, डाक्टरको पूर्जा एकदमै स्पष्ट छ भने औषधी विक्रेता कहाँ औषधी किन्दाखेरी नै हामीले राम्रोसँग जाँच्नुपर्छ विक्रेताले ठिक औषधी दियो कि दिएन भनेर। कैयौं व्यक्तिहरूले औषधी वित्रेताहरूले त्यस्तै औषधी हो डाक्टरले लेखेकै औषधी हो,त्यही नामको नभए पनि त्यस्तै त्यस्तै काम गर्ने औषधी हो भनेर दिने चलन छ । हामीले त्यसलाई स्वीकार गर्नुहुँदैन । बरू त्यो औषधी पसलमा छैन भने अन्य औषधी पसलमा गएर औषधी किन्नुपर्छ । दुई चारवटा औषधी पसल चाहार्ने बानी गर्नुपर्छ भन्ने मेरो अर्को धारणा छ ।
औषधी चाहिं कतिपल्ट खाने, केसँग खाने भन्ने कुरामा पनि ध्यान पुराउन पर्छ । कुनै औषधी एकपल्ट खानुपर्छ, २४ घण्टा काम गर्न औषधी एकपल्ट खाए पुग्छ । १२ घण्टा काम गर्न औषधी दुईपल्ट खानुपर्ने हुन्छ । आठ घण्टा काम गर्न औषधी तीनपल्ट खानुपर्ने हुन्छ । यो कस्तो प्रकारको औषधी हो, त्यसको आधारमा हुन्छ, कतिपल्ट खाने भन्ने कुरा । अब कस्तोसँग खाने, तातो पानीसँग खाने कि चिसो पानीसँग खानेभन्दाऔषधी बास्तवमा मनतातो पानीसँग खाएमा सबभन्दा उत्तम हुन्छ । कुनै कुनै औषधीलाई दुधसँग खानुपर्नेपनि हुन्छ । तर धेरैजसो औषधी मनतातो पानीसँग खाँदा उत्तम हुन्छ । गर्मीको समय छ भने चिसो पानीसँग खाँदा पनि केही फरक पर्दैन ।
औषधी खाँदाखेरी खानाअगाडि खाने कि खानापछाडि खाने भन्ने अर्को प्रश्न छ । खानाअगाडि खानु भनेको खाली पेटमा खानु हो । कुनै पनि औषधी के हुन्छ भने तुरून्त छिटो काम गराउनुपर्ने हुन्छ ।त्यस्ता औषधीहरू खानाअगाडि खान हामी सल्लाह दिन्छौं । एन्टिबायोटीक खानाअगाडि खाने सल्लाह दिइन्छ । थाइराइडको औषधी खानाअगाडि,सुगरका कतिपय औषधी छन् खानाअगाडि खानुपर्ने हुन्छ भने औषधी खाइसकेपछि त्यसले पेटलाई होडल्छ,त्यसलाई असर गर्ने खालका, ग्याष्टिक बढाउने खालका औषधीहरू हुन्छन् ति चाहिंखानापछाडि खाने सल्लाह दिन्छौं ।
पेनकिलरहरू खानापछाडि खानुपर्छ । खानाअगाडि खाए त्यसले अल्सर गराउनसक्छ । डाइबेटिजका औषधी खाना खानेबितिकै खानुपर्ने हुन्छ । कुनै औषधी पिसाब गराउने खालको हुन्छ । त्यसलाई चाहिं एकाबिहानै खाँदा राम्रो हुन्छ, त्यसले दिनभरी काम गर्छ । बेलुका खायो भने रातभरी पिसाब लाग्नसक्छ, त्यो बुझ्नुपर्छ । निद्रा लाग्ने औषधी सुत्ने बेलामा मात्र खानुपर्छ । खानाअगाडि र खानापछाडि धेरैजसो यो ब्लड प्रेसरका बिरामीले अगाडि खाने कि पछाडि खाने झुक्कि रहुनभएको हुन्छ ।
ब्लडप्रेसरको औषधी – ब्लड पेसर घटाउने औषधी खानापछाडि खाएपनि हुन्छ, खानाअगाडि खाएपनि हुन्छ । खानाअगाडि खानु वा खानापछाडि खानु एउटै कुरा हो । एकपल्ट खानेब्लड प्रेसरको औषधी छ भने बिहान खाँदा राम्रो हुन्छ । किनभने त्यसले दिनभरी राम्रोसँग काम गर्छ । सुतेपछि धेरै जसोको ब्लडप्रेसर घट्छ । यदि कसैकसैको ब्लडप्रेसर रातमा बढ्ने टेन्डेन्सी छ भने बेलुका खाँदा राम्रो । यी सबै डाक्टरले प्रेसकिप्सनमा लेखिदिने कुरा हो । यसबारे डाक्टरसँग स्पष्टसँग बुझ्नजरूरी हुन्छ ।
इन्सुलिन लगाउने बिरामी हुनुहुन्छ भने १५ मिनेटअगाडि लगाउनुपर्छ किनेभने इन्सुलिनले १५ मिनेटपछि मात्र काम गर्न शुरू गर्छ । कुनै इन्सुलिन हुन्छ लामो समय, २४ घण्टा नै काम गर्ने हुन्छ । यो खानाअगाडि खाएपनि हुन्छ, खानापछाडि खाएपनि हुन्छ, बिहान लाएपनि हुन्छ, बेलुका लाएपनि हुन्छ । यो कुनैपनि समयमा लगाउन सकिन्छ । एकपल्ट लगाउने हो तर सँधै त्यहि निश्चित समयमा लगाउनुपर्छ ।
त्यसैले हामीले औषधीको बारेमा कुरा गर्दा यी कुराहरूलाई ध्यानमा राख्नु जरूरी छ ।कुनैपनि औषधीलाई मिसाएर भने खानुहुन्न । १५ वटा औषधी खाने मान्छेले एक्कैचोटी नखाएर फरकफरक समयमा खाने । कुनैपनि औषधी सँगै खाएहुन्छ जस्तैः खानापछाडि खानु भनेको छ तीनथरी औषधी एकै चोटी खाएपनि हुन्छ । कुनैपनि औषधी सँगै खाँदा रियाक्सन हुन्छ, त्यसरी खानु हुँदैन । यी सबै कुराहरू हामीले डाक्टरलाई जँचाउन जाँदाखेरी स्पष्टसँग सोध्नुपर्छ भन्ने मेरो एउटा अनुरोध हो ।
अन्त्यमा, मेरो के सल्लाह छ भने हामीले डाक्टरसँग सफा पूर्जा माग्ने गरौं, त्यो माग गरौं डाक्टरसँग । होइन डाक्टर मलाई राम्रोसँग बुझिने अक्षरमा लेखेर दिनुस् भनौं । विक्रेताको कुरा मात्र सुन्ने नगरौं,तिनका भर नपरौं । हामीले क्रस्चेक गर्न सिकौं । र विक्रेतासँग औषधी राख्ने छुट्टाछुट्टै बट्टा मागौं । प्रत्येक औषधीलाई छुट्टाछुट्टै खोलमा राखेर त्यो खोलमा त्यो कुन औषधी हो,कतिपल्ट खाने हो, कसरी खाने हो भन्ने कुरा स्पष्टसँग लेखेर दिने माग गरौं । यो माग गर्ने तपाईहरूको आफ्नो अधिकारको कुरा पनि हो भन्ने कुरा पनि बुझ्नुहोस् ।