पत्रपत्रिकामा आज  : पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा, दूतावासले गरेन सम्पदा पुनर्निर्माण

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

कान्तिुपर
–आजको कान्तिपुरमा काँठमा अव्यवस्थित बस्ती बढ्दै शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । तारकेश्वर नगरपालिका वडा नं। १ को धेरै क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) भित्र पर्छ । यससँगै जोडिएको ग्रामीण भेग ढकालचौरको सबैभन्दा माथि अढाईतले घर छ । ‘त्यो जग्गा निकुञ्जको स्वामित्वमा पर्छ । ४ वर्षजति भइसक्यो यो घर बनाएको,’ स्थानीय एक युवाले भने ।

उक्त घर ठेक्कापट्टा गर्ने रमेश तामाङ नामक व्यक्तिको रहेको स्थानीय बताउँछन् । ‘त्यो घर जनप्रतिनिधि आउनुअगावैको हो,’ वडाध्यक्ष विदुर सापकोटाले भने, ‘यस क्षेत्रमा टहरा र अन्य संरचना पनि थुप्रै छन् । जसको लेखाजोखा स्थानीय तहसँग छैन ।’ ती अस्थायी संरचना पनि बिस्तारै स्थायी बन्ने क्रम जारी छ । उक्त नगरको विकट मानिने उक्त वडाको माथिल्लो इलाकामा नयाँनयाँ घर बनिरहेका छन् । तर, यसरी अव्यवस्थित बस्ती विकास भइरहँदा नगरपालिका भने त्यसलाई नियन्त्रण र कारबाही गर्न अक्षम देखिएको समाचारमा उल्लेख छ ।

त्यस्तै वसन्ती दरबार बनेन शिर्षकमा अर्को समाचार छापिएको छ । ककनी गाउँपालिका ५ स्थित वसन्ती दरबार संरक्षण नहुँदा दिनानुदिन जीर्ण भई ढल्ने अवस्थामा पुगेको छ । दरबारको पूर्वी भागको गारो भूकम्प र वर्षात्ले लडिसकेको छ । छानाबाट पानी चुहिन थालेको छ । पश्चिम मोहडाको गारो पनि ढलेको छ ।

तीनतले दरबार उत्तर र दक्षिण मोहडाका ठूला थामले मात्र खडा छ । दरबारमा स्थानीयवासीले दाउरा राख्ने ठाउँ बनाएका छन् । दरबारअगाडि धुपीका रूख र सानो मन्दिर छ । तल र माथि गरेर दरबारमा आधा दर्जन कोठा छन् । भर्‍याङ लडेको छ । झिँगटीले छाना छाएको छ । ती लड्ने अवस्थामा छन् । अधिकांश बुट्टेदार झयालका खापामा सीमित हुन थालेका छन् । दरबारको पछाडि रिंङ्गे पालीहरू छन् ।

ती पालीहरूमा छाएका झिँगटी सबै खसेर बुट्टेदार थाम र निदाल मात्र छन् । ती पनि घामपानीले कुहिन थालेका छन् । पालीमुनि घाँस उम्रेर झाडी बनेको छ । पुराना ऐतिहासिक धरोहर जोगाउनुपर्ने स्थानीयको माग छ । वरिपरि बन्दै गएको ठूला होटलहरूले दरबारको सुन्दरतालाई छेकेको छ । समुद्री सतहदेखि १५ सय मिटर उचाइमा पर्ने यो दरबार काठमाडौंबाट २९ किमि दूरीमा पर्छ ।

नागरिक
–आजको नागरिकमा काठमाडौँ –तराई फास्ट ट्रयाक : अतिरिक्त पाँच अर्ब प्रस्ताव शिर्षकमा रुद्र पंगेनीको समाचार छापिएको छ ।नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत दुई अतिरिक्त सुरुङ थप्न र सुरुङ विस्तार गर्न प्रस्ताव अघि सारेको छ । कमजोर भौगोलिक अवस्था र कान्ति राजपथसँगको मार्गरेखा मिलाउन भन्दै सेनाले सुरुङ थप्न प्रस्ताव गरेको हो।

महादेवटारदेखि भद्रेसम्मको सुरुङ ३.३ किलोमिटर विस्तार गर्ने र भद्रेबाट जितपुर १.३७ किमि र १.४ किमि लेनडाँडामा अतिरिक्त सुरुङ बनाउनुपर्ने प्रस्ताव सेनाले ल्याएको हो । ७६ किलोमिटर फास्ट ट्र्याकको ६.३ किलोमिटर सुरुङ थप्दा नक्सांकन जटिल हुने भएको छ भने लागतसमेत बढ्नेछ।

एडिबीको सम्भाव्यता अध्ययनमा महादेवटारदेखि भद्रेसम्म १।३५ किलोमिटर मात्र सुरुङ बनाउने उल्लेख छ । अतिरिक्त ४।७२ किलोमिटर अतिरिक्त सुरुङ थप्दा प्रतिकिलोमिटर एक अर्बका दरले पाँच अर्ब थप रकम लाग्ने भएको छ । यी प्रस्तावबारे बोलपत्र आह्वान गरिसकिएको छ।

नेपाली सेनाले यस विषयमा निर्णय गर्न सरकारमाथि दबाब दिएको छ । एक खर्ब अनुमानित लागतको यो आयोजनामा थप पाँच अर्ब अतिरिक्त लागत थपिने भएको छ । यसको कारण भने अस्पष्ट रहेको सरकारी इन्जिनियरले बताएका छन्। लामो सुरुङ कान्ति राजपथको मार्गरेखा मिलाउने ठाउँमा बनाइनेछ । यसले गर्दा कान्तिपथमा पनि क्षति पुग्ने सम्भावना रहेको समाचारमा उल्लेख छ।

त्यस्तै तरकारी बजारका ५७ सटरको सम्झौता खारेज शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । ‘शंकास्पद ढंगले कारोबार गरेको सूचनापछि स्पष्टीकरण सोधेका थियौं,’ प्रवक्ता सुवेदीले भने, ‘ चित्त बुझ्दो जवाफ नआएपछि कारबाही गर्यौं।’

खारेजीमा पर्नेमा थोक, खुद्रा, माछा बजार, केज भण्डार, फलफूल पसल छन् । फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन नियमविपरीत सञ्चालन गरेकालाई कारबाही गरेको मन्त्रालयले जनाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिसँग सम्झौता गरेर अरुलाई महंगोमा भाडामा बिक्री गर्दै आएका समाचारमा उल्लेख छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा दूतावासले गरेन सम्पदा पुनर्निर्माण शिर्षकमा नितु घलेको समाचार छापिएको छ । भूकम्पले क्षति पुर्‍याएका सातवटा सम्पदा पुनर्निर्माणको जिम्मा लिएको भारतीय दूतावासले अहिलेसम्म काम अगाडि नबढाएपछि स्थानीय बासिन्दा रुष्ट बनेका छन्। सहमति गरेको तीन वर्ष बित्दा पनि पुनर्निर्माणमा तदारुकता नदेखाएको भन्दै पाटनको प्रमुख आकर्षणको केन्द्र ‘भीमसेन मन्दिर’ निर्माण बनाउन स्थानीय आफैं तम्सिएका छन्।

पाटन दरबार स्क्वायरभित्र रहेको यो मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आउजाउ बाक्लो हुन्छ। उत्तरतिरबाट ढल्किएको यस मन्दिरको पर्खाल चिरा परेका छन्। कुनै पनि बेला ढल्न सक्ने भएकाले चारैतिरबाट काठको टेकोले सपोर्ट दिएर राखिएको र मन्दिर वरिपरि हिँडडुल गर्न निषेध गरिएको स्थानीय रवि खनालले बताए। उनले भने, ‘यो मन्दिर कुनै पनि बेला ढल्न सक्छ।’ मानवीय तथा पुरातात्विक सामानको समेत क्षति हुने देखिएकाले स्थानीय आक्रोसित बनेको उनले बताएको समाचारमा उल्लेख छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा प्रवेश द्वारको मोटर पुल जीर्ण बन्दै शिर्षकमा किरन धामीको समाचार छापिएको छ। दार्चुला जिल्लाको प्रवेश द्धारका रुपमा रहेको गोकुलेश्वर बजारको मोटर पुल जिर्ण बन्दै गएको छ। शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा २०५८ सालमा निर्माण भएको उक्त मोटर पुलमा सम्बन्धित निकायको ध्यान नपुग्दा जिर्ण बन्दै गएको हो। मर्मत सम्भार अभावले सडक र यातायातले दार्चुलालाई मुलुक संग जोड्ने उक्त पुल जीर्ण बन्दै गएको स्थानीयले बताएका छन्।

दार्चुलालाई सडक सञ्जाल संग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण भएको हो। १८ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमजोर बन्दै गएका छन्। निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यस बाहेक सरोकारवाला पक्षले हेर्न नै छोडेको गोकुलेश्वरका स्थानियले बताएका छन् । यो पुल निर्माण पछि मात्रै दार्चुला राज्यको सडक मार्गको पहुचमा जोडिएको हो।

चमेलिया पुलले जिल्लाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ, भने देशका विभिन्न स्थानबाट दार्चुला भित्रिने सयाैँ यातायातका साधनहरु यहि पुल भएर भित्रिने र बाहिरीने गरेका छन् । क्षमता भन्दा बढी र ठुला यातायातका साधनहरुको आवत जावतले उक्त पुल जिर्ण बन्दै गएको हो। पुलको बिच भागमा पिच बिग्रेर खाल्डाखुल्डी परेका छन्। जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको यो पुल बन्द हुने अवस्था आयो भने दार्चुला झन दुर्गम बन्ने र विकास समेत पछाडि धकेलिने स्थानिय धनराम जोशीको बुझाई छ।

यो पुल भएर दार्चुला सदरमुकाम र चमेलिया जलबिद्युत आयोजना जाने दैनिक सयौं गाडी आवतजावत गर्ने गर्दछन्। पुलमा साइकल गुड्दा समेत हल्लिने गरेको स्थानियको भनाई छ । पुलमा गाडी चलेको बेलामा पैदल हिड्ने यात्रुहरु पुल हल्लिदा भाचिने होकी जस्तो लाग्ने गरेको गोकलेश्वर–१ का स्थानीय देवदत्त विष्टले बताए। निर्माण कम्पनीले असुरक्षाको कारण देखाउदै रंगरोगन नै नगरी छाडेको स्थानीयले बताएका छन् । अहिले उक्त पुलको पिलर र बारमा खिया लागेको समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा शिर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई)सँग भएको समझदारी औपचारिक रूपमै खारेज गरेको छ । मंगलबार बसेको बोर्डको ३२औँ बैठकले यस्तो निर्णय गरेको हो ।

०६८ मा भएको सम्झौताअनुसार सात वर्षभित्र अर्थात् आगामी चैतभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ वर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा देखाएकाले परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न ऊर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।

सो आयोजना निर्माणका लागि आयोजना विकास समझदारी भएको झण्डै साढे ६ वर्ष(७७ महिना)पछि सिटिजिआइले १३ भदौमा हात झिकेको हो । आयोजनाबाट प्राप्त हुने मुनाफाको दर (आइआरआर) लाभदायक नदेखिएको भन्दै उसले सो आयोजना बनाउन अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार