Friday, September 20, 2024

निलाे स्टिकर टाँसेकोे ट्यांकरको पानी कति शुद्ध ?

ललितपुर– काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर वोधराज दाहाल नेतृत्वको टोली ३० भदौमा बौद्ध जोरपाटी पुग्याे– बोरिङ र ट्यांकरको पानीको स्रोतको अनुगमन गर्न। जोरपाटी क्षेत्रमा स्टिकर नराखेका ८ वटा ट्यांकर भेटिएपछि सरकारी टोलीले नियन्त्रणमा लियो।

‘ट्यांकर व्यवसाय सेवा सञ्चालन सम्बन्धी निर्देशिका, २०७३’ अनुसार ट्यांकर व्यवसायीले ट्यांकरमा पिउनयोग्य पानीका लागि निलो रंगको, घरायसी प्रयोजनका लागि हरियो रंगको र पिउन योग्य बाहेक अन्य प्रयोजनका लागि पहेंलो रंगको स्टिकर टाँस गर्नुपर्ने हुन्छ।

तर, ती आठ वटा ट्यांकरमा कुनै पनि स्टिकर टाँस गरिएकाे थिएन। ती ट्यांकरकाे बिलबुक तथा  कागजपत्र नियन्त्रणमा लिएको  इन्जिनियर बोधराज दाहालले जानकारी दिए।

बोर्डले २०७४ वैशाख ५ गतेबाट खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्री वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपनि कार्यान्वयन फितलो छ। यसैगरी, अनुमति लिएको मितिले ६ महिनाभित्र अनिवार्य रुपमा पानीको स्तर खुल्ने गरी रंगरोगन गराउनुपर्ने व्यवस्था छ।

महालेखापरीकको कार्यालयको ५५अाैँ वार्षिक प्रतिवेदनमा पनि काठमाडौं उपत्यकामा करीब ५ सय खानेपानी ट्यांकर सञ्चालनमा रहेपनि स्पष्ट अभिलेख नभएको एवं ट्यांकरलाई नियमनको दायरामा नल्याएको उल्लेख छ।

बोर्डका इन्जिनियर दाहालका अनुसार हालसम्म १४ वटा ट्यांकरले पनि निलो स्टिकर अर्थात् पिउनयोग्य पानीको चिह्न लिएका छन्। तर, स्टिकरकै आधारमा फोहोर तथा पिउन योग्य नभएको पानीलाई पनि मापदण्ड पूरा गरेको भन्दै छोड्ने गरेको उपभोक्ताहरुको गुनासो छ। इन्जिनियर दाहाल भने ट्यांकरहरूको वर्गीकरणका आधारमा सञ्चालन भएको छ छैन भनेर अनुगमन थालिएको बताउँछन्।

उपत्यकामा लगभग २ सय व्यावसायीले ६ सय ५० हाराहारी पानी ट्यांकर सञ्चालन गरिरहेका छन्। दाहाल भने निलो स्टिकर टासेको ट्यांकरको पानी अशुद्ध नभएको दाबी गर्छन। ‘सबै ट्यांकरको पानी पिउन योग्य छैन,’ दाहालले भने, ‘मापदण्ड पूरा गरेर निलो स्टिकर टासेका १४ वटा ट्यांकरको पानी मात्र पिउन योग्य छ ।’

त्यस्तै, बोर्डले घरायसी प्रयोजनमा प्रयोग हुने ५ सय २९ वटा ट्यांकरमा हरियो स्टिकर लगाएको छ, भने पिउन नहुने पानीका लागि ६२ वटा ट्यांकरमा पहेलो स्टिकर टासिएकाे छ।

‘नीलो स्टिकर टासेकाेमा मात्र होइन अन्य हरियो र पहेंलो स्टिकर टासेको ट्यांकरको पानीलाई पनि गुणस्तर बनाउँछौं,’ उनले भने।  डिप बोरिङ, खोला, इनार र मुलको पानी नै काठमाडौंमा विक्री वितरण हुने पानीका प्रमुख स्रोत हुन्। इन्जिनियर दाहालले पानीको गुणस्तरमा उपभोक्ता आफै सचेत हुनुपर्ने समेत बताउँछन् ।

‘आफूले कुन स्टिकर टाँसेको ट्यांकरको पानी खाइरहेको छु। यसमा उपभोक्ता आफैं सचेत हुनुपर्छ,’ उनले भने, ‘यदि हरियो स्टिकर टाँसेको पानी खानै परेमा उमालेर र प्रशोधन गरेर मात्र खानुपर्छ।’

खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखाका सहसचिव अनिलभद्र खनालले तोकिएको मापदण्डभित्र रहेर पानी विक्री वितरण नगर्ने ट्यांकरलाई कारवाही गर्न बताए। ‘पटक–पटक अनुगमन भएको छ। पहिलो चरणमा सचेत गराएका थियौं,’ उनले भने, ‘अब दोस्रो चरणमा कारवाही हुन्छ।’

मापदण्डविपरीत पानी बिक्री गर्ने ट्यांकरलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने बोर्डका इन्जिनियर दाहालले बताए।

ताजा समाचार

सम्बन्धित समाचार