धनगढी– कैलालीको चुरे गाउँपालिकाका ६ वटै वडामा पानीका मुहान संरक्षणका लागि नीति नै बनाएर बनाएर लाग्नुपर्नेमा जोड दिइएको छ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आयोजना गरेको पानी छलफल कार्यक्रममा सहभागीले सुख्खायाममा चुरे गाउँपालिका क्षेत्रभित्र पानीको विकराल समस्या हुने गरेकोले पानीको मुहान संरक्षण आवश्यक भएकोमा जोड दिएका हुन्।
सुख्खायाममा चुरेका ६ वटै वडामा पानीको समस्या हुँदा खोलाबाट बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको ठूलीगाड सिंचाइ जलउपभोक्ता समिति काफलगैराका अध्यक्ष योगेन्द्रबहादुर शाहले बताए। चुरेमा भएका पानीका मुहान संरक्षण नहुँदा मुहान सुक्दै गएकोले पानीको मुहान संरक्षण आवश्यक भएको शाहको भनाइ छ।
सडक निर्माण, वनजंगल विनास लगायत विभिन्न कारणले पानीका मुहान सुक्दै गएकोले सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनुसार हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ७ का सदस्य लोकबहादुर सारुमगरले बताए।
चुरे ६ मा रहको फल्टुडे बजारमा वर्षौदेखि खानेपानीको समस्या छ। तर, त्यसको समाधान गर्न कसैले तत्परता नदेखाएको खगीसरा विकले दुखेसो पोखिन। ‘महिलाहरूले बिहान ३ बजे उठेर खोलाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्ययता छ,’ उनले भनिन्, ‘गाउँपालिकाले लिफ्ट प्रविधिबाट भएपनि स्थानीयलाई पानीको सुविधा दिनुपर्छ ।’
गाउँपालिकाकी उपाध्यक्ष दीपादेवी साउँदले चुरेका ६ वटै वडाका वडाध्यक्षले पानीका मुहान संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी संरक्षणमा ध्यान दिनुपर्ने बताइन्। चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले जलिय जैविक विविधता तथा वातावरण संरक्षण नीति बनाएर कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर । चुरेमा पानीका मुहान भएरपनि संरक्षणमा ध्यान दिन नसकिएको उनले बताए। पानीका मुहान संरक्षणका लागि गाउँपालिकाले मात्र गरेर हुँदैन उनले भने मुहान संरक्षणका लागि स्थानीयबासिन्दाले पनि चाँसो व्यक्त गर्नुपर्दछ।
पानी छलफल कार्यक्रममा चुरे गाउँपालिकाका जनप्रतिनिधिहरुले पानी मुहान संरक्षणका लागि १० बुँदे प्रतिवद्धताहरुमा हस्ताक्षर गरेका छन्।
कार्यक्रम संयोजक अमृता केसीले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीयबासिन्दाको सहभागिता रहेको थियो।





