Friday, November 1, 2024

बाहिरी चक्रपथ : अब ७२ किलोमिटरको एउटै डीपीआर

काठमाडौँ – दशक अघिदेखि चर्चामा रहेको ७२ किलोमिटर दूरीकोे बाहिरी चक्रपथ बनाउन फेरि विस्तृत आयोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउनु पर्ने भएको छ।

यसअघि उपत्यकाका तीनवटै जिल्ला छुने बाहिरी चक्रपथको लागत साढे ६ अर्ब अनुमान गरिएकोमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले नयाँ डीपीआर बनाउनु पर्ने निस्कर्ष निकालेको हो।

प्राधिकरणका महानिर्देशक भाइकाजी तिवारी भन्छन्, ‘पहिला तयार पारेको डीपीआरले अहिलेको बस्तुस्थितिलाई समेट्न सक्दैन, कतिपय स्थानमा ठूल्ठूला हाउजिङ पनि बनिसकेका छन्। त्यसैले नयाँ डीपीआर नबनाइ आयोजना अगाडि बढाउन सकिँदैन।’

७२ किलोमिटरमध्ये पहिलो खण्डको ६ किलोमिटर सडकको डीपीआर तयार गरिएको थियो। तर, नयाँ डीपीआर बनाउनुपर्ने विषयमा शहरी विकास मन्त्रालय र काठमाडौँ उपत्यका विकास प्राधिकरणबीच सहमति भएपछि आयोजना झन पर धकेलिएको छ।

प्राधिकरणका महानिर्देशक तिवारीका अनुसार अब ७२ किलोमिटरको एउटै आयोजना बनाएर डीपीआर बनाइने छ। त्यसको जिम्मा चिनियाँ कम्पनीलाई दिने शहरी विकास मन्त्रालयको तयारी रहेपनि समझदारी भने भइसकेको छैन।

तर, शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडी बाहिरी चक्रपथको डीपीआर तयार पार्ने भनिएकोमा उक्त काम प्राधिकरणले नै गर्ने बताए।

‘आयोजनामा कति खर्च लाग्ने हो, कसले व्यहोर्न लगायतका विषयमा मात्र जान्न खोजेका हौँ, प्राधिकरणले स्पष्ट जवाफ दिएको छैन,’ उनले भने, ‘हामीले नीतिगत निर्णय गर्ने/गराउने हो अरु सबै काम प्राधिकरणले गर्छ।’

यसअघि बाहिरी चक्रपथ निर्माणका लागि पहिलो खण्डमा चोभारदेखि गाम्चाहुँदै सतुंगल सम्मको ६ किलोमिटर सडक निर्माण गरिने भनिएको थियो। गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो खण्डको डीपीआर पनि स्वीकृत भइसकेको थियो।

उपत्यकाको काठमाडौँ, भक्तपुर, ललितपुर तीनै जिल्ला छुने गरी निर्माण हुन लागेको बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। यसका साथै चक्रपथमा चार वटा फ्लाइओभर बन्ने यसअघिको डीपीआरमा उल्लेख थियो।

ताजा समाचार

सम्बन्धित समाचार