काठमाडौँ – सरकार र यातायात व्यवसायीबीच सहमति भएपछि दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
आइतबार भएको छलफलले आगामी असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने सहमति भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा सहमति जुटेपछि दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको महासंघका महासचिव सिटौलाले जानकारी दिए।सिटौलाका अनुसार सोमबारदेखि नै बुकिङ्ग काउन्टरहरु कहाँ र कसरी राख्नेबारे छलफल हुनेछ ।
यातायात व्यवसायीले सरकारले रोक्का गरेको आफ्नो बैंक खाता खुला गर्नुपर्ने तथा भाडा समायोजनको माग गरेपछि दशैँका लागि अग्रिम टिकट बुकिङ अन्यौलमा रहेको थियो। महासचिव सिटौलाले व्यवसायीका सम्पूर्ण समस्या समाधान गर्नका लागि सरकारलाई नै जिम्मा दिएको बताए ।