निजगढ विमानस्थल : रूख कटानको विषय संसदमा, वनमन्त्रीले जवाफ दिनुपर्ने माग

काठमाडौं– बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलो चरणमा २ हजार५  सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटानका प्रक्रियाको थालनी भइरहेका बेला प्रतिनिधि सभामा पनि आवाज उठेको छ।

विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिना नै रुख कटानको तयारी गरिएको तथा बोटबिरुवा रोप्ने टुंगो नरहेको भन्दै वातावरणविद्हरूले आपत्ति जनाइरहेका बेला आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका कतिपय सांसदहरूले पनि रुख कटानको विरोध जनाएका हुन्।

कांग्रेस सांसद दीव्यमणिराज भण्डारी रुख कटानको विषयको जवाफ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिनुपर्ने माग राखे। पञ्चायतकालमा पञ्चलाई जोगाउन जंगल फडानी भएको उल्लेख गर्दै सांसद भण्डारीले अहिले कम्युनिष्ट सरकार जोगाउन वन फडानी हुन लागेको समेत आरोप लगाए। उनले विमानस्थलको डीपीआर तयार भएको छ? भन्दै प्रश्न समेत गरे।

विमानस्थल निर्माणका लागि रुख कटान गर्न नहुने तर्क राख्दै आएकी सत्तारुढ संघीय समाजवादी नेपालकी सांसद सरिता गिरीले संसदमा विरोध जनाएकी छन्।

तर, संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले रुखको बाहनामा विमानस्थल निर्माण रोकियोस् भनेर षडयन्त्र भइरहेको दाबी गरे। ‘निजगढ विमानस्थलको काम २ वर्षदेखि शुरु भएको छैन।

‘अहिले काम सुरु हुन लाग्दा सदनदेखि बाहिरसम्म निर्माण रोकियोस् भनेर षडयन्त्र भइरहेको छ,’ उनले भने। निजगढ विमानस्थल जसरी पनि निर्माण हुनुपर्ने उनको माग छ।

निजगढ विमानस्थल : ‘बिरुवा रोप्ने टुंगो लागेपछि मात्र रूख कटान हुन्छ’

ताजा समाचार

सम्बन्धित समाचार