काठमाडौं–उपत्यकालाई धुलो र धुँवामुक्त शहर बनाउन वर्षौदेखि विभिन्न प्रयास भैरहेका छन्। तर, ती बाचा र प्रयासले मूर्त रुप लिन सकेको छैन।
काठमाडौं महानगरपालिकाले गत वर्ष मंसिरमा रत्नपार्क आसपासका सडकमा बिहान ब्रुमरले धुलो उठाउने र रातिमा सडक पखाल्ने कामको थालनी गरेको थियो। अझ ब्रुमरले नभ्याउने खाल्डाखुल्डीमा कुचोले सडक बढार्ने काम पनि भयो। तर, अहिले निरन्तरता दिन सकेको छैन। भएका ब्रुमर पनि बिग्रिएर थन्किएका छन्।
त्यसैगरी सडक विभागले २०७३ साल चैतमा एक वर्षभित्रमा काठमाडौंका सबै सडक कालोपत्रे गर्न बताएको थियो। विभागले धुलो नियन्त्रणका लागि पानी छम्किने, सडकमा ब्रुमर लगाई धुलो सफा गर्ने, टुटेफुटेका पाइप टाल्ने, ढलको उचित व्यवस्थापन तथा नाला सरसफाइ गर्ने समेत बताएको थियो। अहिले काठमाडौंका प्रायः सडकमा हिलाम्मे र धुलाम्मे छन्।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई धुलो, धुँवामुक्त गरी सफा शहर बनाउने घोषणा त गरे तर, परिणाम शून्य छ।
यातायात व्यवस्था विभागले १ भदौदेखि काठमाडौं उपत्यका र ६ वटै महानगरपालिका तथा ११ वटै उपमहानगरपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण चारपाङ्ग्रे सवारीका साधनमा अनिवार्य रूपमा सवारी साधन चेकजाँच गराई हरियो स्टिकर लिएर सवारी साधनहरूमा टाँस्न भनेको थियो। तर, प्रदूषणयुक्त गाडी काठमाडौं उपत्यकाभित्रै चल्ले गरेका छन्।
त्यसैगरी बागमती नदी सरसफाइ महाअभियानको ५ वर्ष पूरा भएको छ। बर्खाको समयमा सफा देखिएपनि बाँकी महिनामा भने बागमतीमा सधँै ढल बग्ने गरेको छ। यी केही केही उदाहरण हुन् जुन अभियानको बाचा गरियो, केही सञ्चालनमा आए। तर, कार्यान्वयनले पूर्णता पाउन सकेन।
उपत्यकाबासीले अहिले थप सास्ती भोग्नु परेको गुनासो गर्दै आएका छन्। अहिले मास्कले मात्र धुलो, धुँवा र फोहोरको दुर्गन्घलाई रोक्न सक्दैन । मास्कसंगैं एउटा रूमाल अनि हातले नाक नथुनेर हिँड्नै सकिदैन।
बर्खाको समयमा पानी पर्नासाथ हिलाम्य र घाम लाग्न साथ धुलाम्मेले हैरान भएका यहाँका मानिस अहिले उपत्यकाको फोहोर नियमित नठ्दा सडक तथा चोक–चोकमा फोहोरकोे थुप्रोले दुर्गन्ध थप सास्ती भोग्दै आएका छन्।
‘फोहोर बाटोमै फालेका हुन्छन्,’ सिनामगंलकी सन्तोष रेग्मीले भने, ‘फोहोर नजिकबाट हिँड्दा बान्ता नै आउने गरि दुर्गन्घ आउँछ।’ उनका अनुसार पहिला धुलो र धुँवाको मात्र सास्ती थियो अहिले दुर्गन्ध थपिएको छ। बल्खुकी फूलमाया तामाङ भन्छिन्, ‘पहिलाभन्दा अहिले काठमाडौं धुलोे, धुँवा र दुर्गन्ध बढेको छ।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की उपत्यकाको धुलो र धुँवा नियन्त्रण गर्न चुनौती भएपनि प्रयास भने जारी नै रहेको बताउँछन्। शहरलाई सुन्दर बनाउन विगतदेखि नै प्रयास भएपनि उपत्यकाको सडक मापदण्ड विपरीत हुँदा धुलो, धुँवा नियन्त्रण गर्न समस्या भएको उनको दाब छ। ‘यहाँका प्रायः सबै सडक मापदण्डविपरीत छन्,’ उनले भने, ‘जताजतै खाल्टाखुल्टी छन् यसो हुँदा धुलो नियन्त्रण गर्न सकिएको छैन।
सडकको धुलो सफा गर्न पाँच वटा ब्रुमर खरिदका लागि सम्झौता भैसकेको पनि ब्रुमर नेपाल ल्याउन ६ महिना लाग्ने उनले बताए।
त्यस्तै, नुवाकोटको ‘सिसडोल ल्याण्डफिल साइट’ मा तीन वर्षका लागि भन्दै १३ वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको छ। विकल्पको रूपमा लिइएको बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ संघीय सरकार र स्थानीय सरकार कसले अन्यौल हुँदा अहिले भैरहेको काम रोकिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताए। सरकारले यसअघि फोहोरमैला प्राविधिक सेवा केन्द्रलाई बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बनाउने जिम्मा दिएको थियो।
त्यसैगरी, सडक विभागले सडकलाई खाल्डाखुल्डी पुर्ने घोषणा गरेको छ। तर, अन्य निकायसँग समन्वय नहुँदा समस्या भइरहेकोे विभागका प्रवक्ता मुक्त्ति गौतमले बताए।
‘खानेपानीका पाइप १ सय बर्ष पूरानो छन्, बेलाबेला फुट्छ,’ उनले भने, ‘खानेपानीको पाइप विछ्याउन खोनपानी विभागले सडक खन्छ, फेरि हामी पुर्न जान्छौं।’ खानेपानी, ढल, सडक, सिंचाइ, विद्युत, टेलिकम लगायतका निकायसँग समन्वय नहुँदा यो समस्या देखिएको उनले बताए।
उनले बौद्ध–जोरपाटी र कंलकी–नागढुंगामा धुलोका कारण सास्ती भैरहेकोले त्यसको नियन्त्रणका लागि सडक निर्माण कार्य भैरहेको बताए। केही काम कार्तिक र बाँकी काम चैतसम्म सम्पन्न गर्न उनले बताए।





