Friday, November 1, 2024

अग्रिम टिकट बुकिङ : सरकार र व्यवसायीबीच निरन्तर वार्ता, उपलब्धि शून्य

काठमाडौँ – नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा दशैँका लागि अग्रिम टिकट बुकिङ भने अझै खुल्न सकेको छैन्।
यातायात व्यवसायी र सरकारबीचको विवादले गर्दा अहिलेसम्म पनि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो।

यातायात व्यवसायी सरकारले रोक्का गरिदिएको आफ्नो बैंक खाता खोल्नु पर्ने तथा भाडा समायोजन गर्नुपर्ने अडानमा छ भने सरकार उनीहरूकाे कुरा मान्न तयार छैन् । यसरी दुई पक्षको जुधाइमा सर्वसाधारण पेलिइरहेका छन्।

गत सातादेखि सरकार र व्यवसायीबीच दैनिक जसो छलफल भइरहेको छ तर दुबै पक्ष आ–आफ्नो अडानमा अडिक रहेकाले कुनैपनि निकास भने निस्कने छाँटकाँट देखिएको छैन्।

सरकार सबै यातायात व्यवसायी कम्पनीमा दर्ता भइ सरकारको मातहतमा रहोस भन्ने चाहन्छ तर व्यवसायी उक्त कुरा मान्न तयार छैनन्।

गृह मन्त्रालय यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गराएमा मात्र बैंक खाता खुला गर्ने पक्षमा छ। साथै कसैले बैंक खाता रोक्का गर्यो भन्दैमा अग्रिम बुकिङ रोक्छ भने कारबाही गरिने जनाउँदै आएको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय व्यवसासीसँग छलफल भइरहेको र चाँडै नै निष्कर्षमा पुग्ने बताउँछन्।

तर यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने सरकारले आफूहरूमाथि अन्याय गरेको बताउँछन्। ‘सरकारले हामीलाई चरम अन्याय गर्यो, हात खुट्टा सबै बाँधेर खोलामा पौडी खेल्न जा भनेर हुन्छ?’ उनले भने, ‘ दशैँको बेलामा करोडौँको कारोबार हुन्छ, सबै बैंक खाता रोक्का गरिदिएको छ। कर्मचारी सबै तलबबिनै काम गरिरहेका छन्।’

दुर्घटना हुँदा व्यहोर्ने खर्च पनि सबै बैंकबाटै निकाल्नु पर्ने भएकाले खाता नै रोक्का गरिदिएपछि केही गर्न नसकिने उनको भनाई छ। ‘त्यस्तै भैपरी आउँदा चाहिने हो, तर सबै रोकिदिएका छन् हामीले केही पनि गर्न सक्दैनौँ’, उनले भने।

सरकारले महिनैपिच्छे पेट्रोलिय पदार्थको मूल्य बढाउँदा र सवारीसाधनको कर बढाउँदा पनि आफूहरू चुपचाप बस्नुपरेको उनको गुनासो छ।

ताजा समाचार

सम्बन्धित समाचार