काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सहरको सरसफाइका लागि १३० हर्सवार क्षमता र युरो मापदण्ड ४ बमोजिमका ५ वटा मेसिन सञ्चालनमा ल्याएको छ। ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको पानी अट्ने गरी जम्मा ५ हजार लिटर क्षमताका मेसिन सञ्चालनमा ल्याइएको हो। उक्त ट्यांकीमा एक हजार लिटरमा ढल तानेर राखिन्छ भने ४ हजार को ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ।
मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ् पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिन्छ। जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ। यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन। हरेक वर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरू प्रयोगमा ल्याइएका हुन्।
यसैगरी सरसफाइ दिवसको अवसरमा पारेर महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा शनिबार सबै वडा क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम अन्तर्गत वडाध्यक्षको अगुवाईमा वडा क्षेत्र र केन्द्रको अगुवाईमा रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो।