काठमाडौं–आइतबार विश्वभर संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। हरेक वर्षको सेप्टेम्बर १६ तारिखमा यो दिवस मनाउने गरिन्छ।
विश्वब्यापी समस्याका रुपमा रहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सन् १९९५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ओजन तह बचाउ दिवस मनाउन थालेको हो।
पृथ्वीलाई ढाकेको ओजन तह पातलीदै जाँदा तापक्रममा वृद्धि भई विभिन्न समस्या निम्तिन थालेपछि विश्वभर ओजन तह दिवस मनाउन थालिएको हो।
जनसंख्या वृद्धि, वन विनास, बढ्दो शहरीकरण र औद्योगिकरणका कारण ओजनतह पातलिदै गएको वैज्ञानिकहरुको भनाइ छ। सूर्यका विभिन्न किरणहरुलाई छानेर मात्र पृथ्वीमा आउन दिने तत्व ओजनतह भएकाले यो पातलिदै जाँदा हानिकारक किरण पृथ्वीमा प्रवेश गर्ने वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले जानकारी दिए।
ओजनतह पातलिदै गए विभिन्न किसमका छालाका रोगहरुको साथमा तापक्रम वृद्धि हुन्छ।
पछिल्लो २ सय वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको वातावरणविद् सूर्यमान शाक्य बताउँछन्।
धनी र औद्योेगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई थेग्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ।
हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनास, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण जस्ता क्रियाकलाप पर्दछन्। वनजंगल संरक्षण, वृक्षरोपण, नवीकरणीय ऊर्जा र वैकल्पिक ऊर्जाको प्रयोगले ओजनतहलाई बचाउन सकिने वन र वातावरणसँग सरोकार राख्ने निकायले जनाएका
छन्।
ओजनतहका बारेमा नेपालमा गुणस्तर तथा नापतौल विभागले हेर्ने गरेको छ। दिवसको अवसरमा विभागले आयोजना गरेको प्रभातफेरि बसन्तपुुर–जमल–असन हुँदै फेरि बसन्तपुरमा पुगेर समापन भएको थियो।
विभागका महानिर्देशक विश्वबाबु पुडामसैनी ओजनतह बचाउन सबैले आ–आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्ने बताउँछन्।





