काठमाडौं– खानेपानी मन्त्री बिना मगरले सरकारले तोकेको मापदण्ड पूरा नगर्ने बोरिङ र ट्याङ्क व्यवसायीलाई कार्वाही गर्ने बताएकी छन्।
खानेपानी मन्त्रालयको टोलीले शनिबार उपत्यकाभित्रका ४० वटा बोरिङ र पानी सप्लाई गर्ने ट्याङ्करहरुमा अनुगमन गरेको थियो।
शनिबार बिहान खानेपानी मन्त्री बिना मगरसहितको अनुगमन टोलीले काठमाडौं उपत्यकाका बाँसबारी, चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ-र्याङ, जोरपाटी गोदावारी, हरिसिद्धी, सिद्धी विनायक लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको अनुगमन गरेको थियो।
‘सरकारले बोरिङको पानीबारे गरेको व्यवस्था सबैले लागू गर्नुपर्छ,’ मन्त्री मगरले अनुगमनपछि भनिन् ‘सबैले शुद्ध र गुणस्तर पानी सुलभ मूल्यमा प्राप्त गर्नुपर्छ। जसले मान्दैन, त्यो कार्वाहीमा पर्छ।’
उनले पिउने पानी सम्बन्धी ऐन नहुँदा खानेपानीमा देखिएको समस्या समाधान गर्न अप्ठ्यारो भएको बताइन् । उनले मन्त्रालयले खानेपानी सम्बन्धि छुट्टै ऐनको मस्यौदा तयार गरेकोले पारित भएलगातै उपभोक्ता अधिकार थप सशक्त हुने समेत बताइन्।
मन्त्रालयले खानेपानीका लागि निलो स्टिकर,घरायसी प्रयोजका लागि हरियो र अन्य प्रयोजनका लागि पहेलो स्टिकरको व्यवस्था गरेको छ। तर,अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको थियो।





