काठमाडौं –सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न वातावरणीय मुद्दा उठाएका हुन्।
बैठकमा सांसद अग्निप्रसाद सापकोटाले चीनको सीमा नाकातर्फको सडक मर्मतमा तीव्रता दिन सरकारसँग आग्रह गरे । भूकम्पले क्षति पुर्याएको खासा क्षेत्रका चीनले सडकको पुनःनिर्माण गरिरहेको हुँदा भत्किएको मितेरीको स्थानमा बेलीब्रिज राखेर पनि यातायात सञ्चालन गर्न सकिने सङ्केत गरेको तर्फ इङ्गीत गर्दै उनले नेपालतर्फको सडक तीव्र गतिमा मर्मत गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेका हुन्।
सांसद इन्दुकुमारी शर्माले विकासको नाममा चुरे क्षेत्रमा अत्यधिक दोहन नरोकिएकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले अत्यधिकरुपमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन रोक्न माग गर्दै यसबाट तराई–मधेश क्षेत्रमा निम्त्याउन सक्ने विनासप्रति सजग रहन चेतावनी दिइन्।
सांसद उमाशङ्कर अरगरियाले वर्षाैं अघिदेखि शुरु भएको हुलाकी सडक निर्माणलाई ठेकेदारले मात्र होइन सरकारले समेत बेवास्ता गरेको भनी गुनासो व्यक्त गरे।
सांसद कृष्णकुमार श्रेष्ठले नागढुङ्गा–नौबिसे सडकखण्ड निकै जर्जर अवस्थामा रहेकाले तत्काल सुधारमा ध्यान दिन सरकारलाई सुझाव दिए । नेपालीका महान् चाड दशैँ तिहार शुरु हुनै लाग्दा सो सडक सुधार छिटो गर्नुको विकल्प नभएको बताए।
सांसद कृष्णकुमार राईले मुलुकको राजधानीका सडकको अवस्था निकै दयनीय हुँदा जनप्रतिनिधि भनेर आफूलाई टाउको ठड्याएर हिँड्नसमेत लाज लागेको उल्लेख गरे।
सांसद गणेशकुमार पहाडी सिन्धुली जिल्लाको चदाहा खोलामा आएको बाढीले ६५ घर र विद्यालय पनि कटानको जोखिममा परेकाले तत्काल तटबन्धको व्यवस्था गर्न माग गरे।
सांसद गणेशसिंह ठगुन्नाले सडक दुर्घटना रोक्न सडक सुधार र लामो दूरीका सवारी साधनमा दुईवटा चालकको व्यवस्था गर्न माग गरे।
सांसद घनश्याम खतिवडाले मोरङको लेटाङ, उर्लाबारी–मधुमल्ला जोड्ने सडक वर्षाका कारण जीर्ण भएकाले तत्काल सुधार गर्न माग गरे।
प्रतिनिधिसभाको शनिबारको विशेष समयमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानकुमारी छन्त्यालले बालगुङमा बडिगाड खोला थुनिँदा वरपरका बस्ती कटान गर्ने खतरा देखिएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्न सरकारलाई ध्यानाकर्षण गराए।





