काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘दीगो विकासको अवधारणा’ अनुसार वातावरणीय क्षेत्रमा कमभन्दा कम क्षति पुग्ने गरी निर्माण गरिने बताएका छन्।

हात्तीको कोरिडोर समेत रहेको जंगलमा विमानस्थल बनाउँदा वातावरणीयसँगै जैविक विविधतामा खलल पुग्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका बेला मन्त्री अधिकारीले वातावरण र विकासलाई सँगसँगै अगाडि बढाउने गरी निर्माण गरिने र हरियाली कायम गर्न सरकार संवेदनशील हुने बताएका हुन्।
बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रमा विमानस्थल निर्माणका लागि ९ जेठमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ। जसमध्ये सात हजार नौ सय ६९ हेक्टरमा वनजंगल र बाँकी क्षेत्रमा बस्ती छ। इआइए प्रतिवेदन अनुसार पहिलो र दोस्रो चरणमा गरी विस्तार हुने विमानस्थलका लागि साढे २४ लाख रुख कटान गर्नुपर्नेछ।
पर्यटनमन्त्री अधिकारीले २३ वर्ष अघि नै अध्ययन भइसकेको उपर्युक्त क्षेत्र रहेकाले यसको विकल्प खोज्न नसकिने तर, रुख आवश्यकता अनुसार मात्र काटिने शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका एक लाख ९५ हजार ठूला र ५ लाख ७५ हजार पोल आकारका गरी सात लाख ७० हजार रूख कटानका लागि २१ असारमा वन मन्त्रालयमा कार्ययोजना पेश गरेको थियो। तर, वन मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश नगर्दा रुख कटानको बाटो खुलेको छैन।
सरकारले विमानस्थल बनाउनुभन्दा पनि रुख कटानका लागि हतार गरिरहेको भन्दै ब्यापक आलोचना भइरहेका बेला नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बिरुवा रोप्ने टुंगो लागेपछि मात्र रुख कटान गरिने बताए। ‘अहिले पहिलो चरणमा रुख कटानका लागि प्रस्ताव मात्र गरिरहेको हो। रोप्ने टुंगो नलागेर काट्दैनौं,’ उनले भने। एउटा रुख काटेमा सोधभर्नाबापत २५ वटा बोटबिरुवा रोप्नुपर्छ। प्रतिविरुवा १ दशमलव २५ मिटरको दुरीमा रोप्नुपर्ने छ, पहिलो चरणका लागि २ हजार हेक्टर जमिन मात्र आवश्यक पर्नेछ।
मन्त्री अधिकारीले बोटबिरुवा आयोजनाले नभइ वन तथा वातावरण मन्त्रालयमार्फत् रोपिने बताए। ‘आयोजना आफैंले रोप्दा रोपेको भन्ने तर, नरोपेको हुन जानसक्छ,’ उनले भने, ‘आयोजनाले बिरुवा रोप्न तथा पाँच वर्षसम्म रेखदेखका लागि बजेट दिन्छ वन मन्त्रालयमार्फत् रोपिन्छ।’
विमानस्थल सार्वजनिक–निजी साझेदारी मोडालिटी अन्तर्गत बनाउने निर्णय भइसकेको र अब केही महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनौट गरिने मन्त्री अधिकारीले बताए। महानिर्देशक गौतमले अबको २ वर्षभित्र रुख कटान लगायतका काम सकेर ‘साइट क्लियर’ भइसक्ने र त्यसको पाँच वर्षभित्र विमानस्थल निर्माण भइसक्ने बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ भदौमा निजगढ विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ। सेनाले दुई वर्ष भित्रमा सवै काम सम्पन्न गर्ने छ। जसको लागि सरकारले यसवर्ष मात्रै १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विमानस्थलमा पहिलो चरणमा ‘वन रनवे’ रहने भएपनि आवश्यता अनुसार ‘सेकेन्ड र थर्ड रनवे’ बनाउने गरी सरकारले विमानस्थलको क्षेत्र बढी ओगटेर सुरक्षित राखेको उनले बताए। ‘बाँकी क्षेत्रको रुख भविष्यमा विमानस्थल विस्तार गर्दा आवश्यकता अनुसार कटान हुन्छ, अहिले होइन,’ उनले भने।
विमानस्थलको क्षेत्र ८ हजार ४५ दशमलव ७९ हेक्टर भएपनि १ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ। विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।





