खोटोबाट मनग्य आम्दानी

रोल्पा–जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन्।

खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले  दुई करोड ३९ लाख ८६ हजार आम्दानी गरेका छन्।

जिल्लाका ६ सय ३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १ सय ९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६ सय ४६ किलो खोटो बिक्री गरेका थिए। खोटो बिक्रीबाट सामुदायिक वनका अतिरिक्त स्थानीय तह तथा सङ्घीय सरकारलेसमेत राजश्व सङ्कलन गर्दै आएका छन्।  सामुदायिक वनले खोटो निकासी वापत जिल्ला विकास समितिलाई प्रतिकिलो ८० पैसाका दरले ३१ लाख १८ हजार राजश्व बुझाएका थिए।

यसैगरी मूल्य अभिवृद्धि करबापत सरकारी कोषमा १९ लाख १८ हजार जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ। विगतमा जिल्ला विकास समितिलाई उपलब्ध गराउँदै आएको स्थानीय कर अव स्थानीय तहलाई बुझाउनु पर्ने छ।

सामुदायिक वनले आम्दानीको ठूलो हिस्सा सामुदायिक विकासमा खर्च गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष मनसिं डाँगीले बताउनुभयो । अधिकांश विद्यालय सञ्चालनको स्रोत सामुदायिक वन भएका छन्।

जिल्लामा गत असार मसान्तसम्म ६३७ सामुदायिक वन स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। सामुदायिक वनको ६४ हजार ४१८ हेक्टरमध्ये हालसम्म ५० हजार ६१२ हेक्टर समुदायलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार