काठमाडौँ–देशका मुख्य राजमार्गसहित विभिन्न स्थानमा रहेकामध्ये साढे चार सय पुल जोखिममा रहेका छन्।
भूकम्प, बाढीपहिरो लगायत विभिन्न कारणबाट क्षति पुग्दा ४ सय ६१ पुलमा सवारीसाधन गुडाउन समेत जोखिम रहेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ। ती पुलको मर्मतसम्भारमा ढिलाइ हुँदा झनै जोखिम बढ्दै गएको छ।
देशका मुख्य सडकसहित अन्य क्षेत्रमा दुई हजारभन्दा बढी पुल रहेकाेमा २०७२ वैशाख १२ गतेको भूकम्पबाट २ सय ६१ वटा पुलमा क्षति पुगेको थियो। भूकम्पबाट प्रभावित ३२ जिल्लामा रहेका ती पुलको अझै मर्मत सकिएको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धीत निकायबाट पुल मर्मतको काम भइरहेको बताउँछ।
भूकम्प बाहेक बाढीपहिरो लगायतका कारणबाट २ सयवटा पुलमा क्षति पुगेको छ। जसको तत्काल मर्मत नगरिए ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै सरोकारवालाहरूले पटकपटक सचेत गराउँदै आएका छन्।
पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा भन्छन्, ‘सबै पुल मर्मत गर्ने प्रक्रियामा छौँ, देशभरका पुल मर्मतका लागि ठेक्का दिने तथा टेण्डर आह्वान गर्ने क्रममा छाैँ ।’
महाशाखाका उपमहानिर्देशक थापाका अनुसार भूकम्प, बाढीपहिरो बाहेक नियमित रुपमा मर्मतसम्भार हुन नसक्नु, नदीको दोहन बढ्नु र पुराना पुल विस्थापित गरी नयाँ बनाउन नसक्नु लगायतका कारणले राजमार्गका पुलमा बढी जोखिम बढेको छ। यसका साथै पुलका जग पनि कमजोर भएकाले जोखिम बढेको उनको भनाइ छ ।
मर्मतका लागि १३ प्याकेजमा ५० करोडको ठेक्का
देशभरका पुल मर्मत गर्न १३ प्याकेजमा ५० करोडको ठेक्का दिन लागिएको पुल महाशाखाले जनाएको छ। महाशाखाका उपमहानिर्देशक थापाका अनुसार विश्व बैंकको सहयोगमा देशभरका पुल मर्मतका लागि ५० करोड बजेट छुट्याइएको छ। त्यसमा पनि भूकम्पबाट क्षतिग्रस्त बनेका पुल मर्मतका लागि १५ करोडको ठेक्का दिइएको छ।
तर, देशभरका मुख्य राजमार्गमा रहेका पुलको उचित व्यवस्थापन एवं संरक्षण नहुँदा पनि जोखिम बढेको जानकारहरूको भनाइ छ।
पुराना भइसकेका पुलको मर्मतसम्भार नगरी त्यतिकै छोडिदिँदा त्यस्ता पुलमा गाडी गुडाउन तथा मान्छे हिँड्न झनै जोखिम रहने गरेको छ। त्यसैगरी पुलको भारबाहन क्षमताभन्दा बढीको सवारी आवागमनले गर्दा पनि समस्या निम्ताएको छ।
पुलमर्मत नहुँदा सास्ती
पुलको सुविधा पुगेमा खोला तथा नदी पार गर्न सबैभन्दा सहज हुन्छ। जोखिम पनि रहँदैन। तर, निर्माण भएका पुल पनि जीर्ण हुनुका साथै हिँड्नै नमिल्नेसम्मका भएपछि कतिपय क्षेत्रमा सर्वसाधारण डुंगा तथा अन्य माध्यमबाट नदी वारपार गर्ने गरेका छन्।
यही बर्खामा मात्रै नुवकोटको गेर्खु खोलाले पुल बगाएपछि केही दिन आवागमन नै ठप्प भएको थियो, भने सिन्धुपाल्चोकमा बाढीले पुल बगाएपछि सर्वसाधरण मारमा परे।
पूर्वपश्चिम राजमार्गमा पनि भत्केका पुल मर्मत नहुँदा कष्टकर र जोखिमपूर्ण यात्रा गर्नु परेको सर्वसाधारणको गुनासो छ।





