काठमाडौं–भारतमा ‘नरभक्षी’ बाघलाई मार्न नदिन अदालत गुहारिएका बेला नेपालमा नरभक्षी चितुवा मार्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
भारतको महाराष्ट्र राज्यमा एउटा नरभक्षी बघिनीले केही महिनामै पाँच जनालाई मारिसकेपनि समात्न नसकिएको भन्दै मार्ने योजना बनाइरहेका बेला उक्त प्रकरण त्यहाँको सर्वोच्च अदालतमा पुगेको छ।
वन्यजन्तु संरक्षणवादीहरूले त्यही बघिनीले मान्छे मारेको हो कि होइन त्यो निश्चित नभएकाले मार्नबाट रोक्नुपर्ने भन्दै रिट दायर गरेपछि अदालतले सुनाइ गर्ने तयारी गरेको छ।
तर, नेपालको अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–८ किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट एक पाँच वर्षीया बालिकाको ज्यान गएपछि प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकार खिमराज भुसालका अनुसार मान्छे मार्ने चितुवालाई खोजेर मार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ८० सदस्यीय टोली जंगलतिर लागेको छ।
स्थानीय प्रशासनका अनुसार अर्घाखाँचीमा नरभक्षी चितुवाले तीन वर्षको अवधिमा १२ जनाको ज्यान लिइसकेको छ। तर, संरक्षणकर्मीहरू भने वनजंगल विनास हुनुका साथै आहारामा कमी आउन थालेपछि चितुवा लगायतका वन्यजन्तु बस्ती आउने गरेको बताउँछन्।





