Friday, November 1, 2024

पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

नवलपरासी – पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन्।

देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउँछन्। नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन्।

देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताए। यहाँ समितिले एक हजार ९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरेको छ । उक्त भ्यूटावरबाट मनोरम दृश्यावलोकन गर्न सहज भएको छ ।

पूर्वी नवलपरासीको एक मात्र पदयात्राका लागि उपयुक्त ठाउँ देवचुली डाँडालाई चिनाउन देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले संयुक्त योजना बनाउनु आवश्यक छ । “सम्वद्र्धन र प्रवद्र्धनका लागि मिलेर काम गरिरहेका छौँ,” बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटीले भने। देवचुलीबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ पदयात्राका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक छ । यहाँ आउने बाह्य पर्यटकको सङ्ख्या न्यून छ । पर्याप्त प्रचार–प्रसार गर्न सके देवचुली डाँडा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । देवचुली डाँडामा पूजालाई व्यवस्थित गर्न तीन कन्यामाइको मन्दिर निर्माण तथा खानेपानीका लागि फेदीमा व्यवस्था गरिएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार