बैतडी–चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ।
शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप्न लागिएको हो। सुल्लेखानमा चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिमा पारित भइसकेको छ।
“प्रहरी चौकी स्थापना गर्न सिफारिश गरेर प्रदेश नं ७ को प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ, अबको १५ दिनभित्रै प्रहरी चौकी स्थापना भइसक्छ,” गिरीले भने। हाल शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको छ। सो चौकीबाट सुल्लेखान पुग्न पैदल चार घण्टा लाग्छ।
गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए । तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र हो । त्यहाँ सुरक्षाको कारण देखाउँदै बैंक शाखासमेत स्थापना हुनसकेको छैन। सो क्षेत्रमा चितुवाको आक्रमणबाट ६ वर्षयता २३ बालबालिकाले ज्यान गुमाएका छन्। जिल्लाभर हाल ३१ प्रहरी चौकी रहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। रासस