काठमाडौं–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाको तथ्यांक सार्वजनिक गर्न ढिलाइ गरेको छ।
यसअघि जुलाई २९ तारिखको विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गर्ने भनिए पनि २ महिना बितिसक्दा पनि गणनाको विश्लेषणको काम नसकिएको विभागको दाबी छ।
५ वटा राष्ट्रिय निकुञ्ज र आसपासका वनजंगल गरी २२ हजार वर्ग किलोमिटर क्षेत्रफलका जंगलमा विभागको अगुवाइमा गणना गरिएको थियो। फोटोको तुलना गरी विश्लेषण गर्न बाँकी रहेकाले गणनाको तथ्यांक सार्वजनिक गर्न ढिलाई भइरहेको विभागका महानिर्देशक मनबहादुर खड्का बताउँछन्।
उनका अनुसार गणनाबाट आएका तथ्यांक र फोटोको विश्लेषणसहित एकीन संख्या निकाल्न विज्ञ समूहले काम गरिरहेको छ। तर, समूहमा रहेका विज्ञहरु नै एकै ठाँउमा भेला भएर विश्लेषणमा सहभागी नहुँदा एकीन तथ्यांक निकाल्न ढिलाइ भइरहेको खड्का बताउँछन्। ‘एक जना विज्ञ मात्र बसेर डाटा एनालाइसिस हुन सक्दैन, ४–५ जना विज्ञलाई एकै ठाँउमा भेला पारेर एनालाइसिस गर्न पनि कठिन भयो,’ उनले भने, ‘कहिले को बाहिर कहिले को बाहिर,सबै विज्ञहरु बसेर भेला हुन पनि गाह्रो भयो।’
यही स्थितिमा दसैं अघि बाघ गणनाको पछिल्लो संख्या आउन कठिन हुने उनले बताए। विज्ञ समूहमा विभागका इकोलोजिष्ट, नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी, डब्लुडब्लुएफ नेपालका शिवराज भट्ट र कञ्चना थापा, जेडएसएलका भगवान दाहाल लगायतका विज्ञ छन्।
नेपालका चितवन राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ। महानिर्देशक खड्काका अनुसार बाघको डाइग्रामसँगै यसको आहाराको अवस्थाका बारेमा पनि अध्ययन भइरहेको छ।
सन् २०१३ मा सार्वजनिक भएको तथ्यांक अनुसार १ सय ९८ वटा बाघ छन्। जसमा चितवन राष्टिय निकुञ्जमा मात्र १ सय २० बटा बाघ रहेकोे उल्लेख छ। यसैगरी पर्सामा ७, बाँकेमा ४, बर्दियामा ५०, शुक्लाफाँटा आपसमा १७ वटा बाघ रहेको तथ्यांक छ। सन् २०१० तीर १ सय २१ वटा बाघ रहेको थियो।
सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए।





