अब पत्रकारको न्यूनतम पारिश्रमिक २९,५००

काठमाडौं– न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार पाँच सय सिफारिस गर्ने निर्णय गरेको छ।

समितिले २०७२ असारमा सिफारिस गरेको पारिश्रमिक दरमा पुनरावलोकन गर्दै श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिकमा ५० प्रतिशतको हाराहारीमा वृद्धि गरेर नयाँ तलबमान सिफारिस गर्ने निर्णय गरेको हो।

समितिका अध्यक्ष गंगाधर पराजुलीका अनुसार क, ख र ग वर्गका राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः २९ हजार ५ सय, २७ हजार ५ सय र २४ हजार ५ सय पारिश्रमिक सिफारिस गरिएको छ। त्यस्तै, प्रादेशिक स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः २१ हजार ५ सय, २० हजार र १८ हजार सिफारिस गरिएको छ।

स्थानीय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः १८ हजार, १७ हजार र १६ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ।

समितिले एफएम रेडियोमा कार्यरत श्रमजीवि पत्रकारको पनि पारिश्रमिक सिफारिस गरेको छ। जस अनुसार ५ सय वाटभन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि २९ हजार ५ सय, ५ सय वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि २१ हजार ५ सय र १ सय वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि १८ हजार रुपैयाँ मासिक न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ।

टेलिभिजन प्रतिष्ठानमध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक २९ हजार ५ सय र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि २१ हजार ५ सय सिफारिस गरिएको छ।

अनलाइन मिडियालाई हालसम्म सरकारी तवरबाट कुनै वर्गीकरण गरिएको छैन। तसर्थ समितिले राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन श्रेणीमा रहने हो, स्वघोषणा गरी सोही अनुसार श्रमजीवीलाई पारिश्रमिक उपलब्ध गराउन सुझाव दिएको छ।

यसका साथै वर्गीकरणमा नपरेका पत्रपत्रिकाहरुलाई पनि स्वघोषणा गरी पारिश्रमिक उपलब्ध गराउन सुझाव दिइएको छ।

सबै संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक रकमका अतिरिक्त एक हजार रुपैयाँ सञ्चार खर्चबापत उपलब्ध गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।

यस अघिको ऐन पूर्ण कार्यान्वयन हुने सञ्चार प्रतिष्ठानका लागि १९ हजार ५ सय र अन्य सञ्चार प्रतिष्ठानका लागि १४ हजार १ सय रुपैयाँ न्यूनतम पारिश्रमिक तोकिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार