नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक असोजमा, एजेण्डा तयार

काठमाडौं–नेपाल–चीनबीच भएको दुई पक्षीय ऊर्जा सहकार्य सम्बन्धी समझदारीलाई मूर्त रूप दिन प्रक्रिया अगाडि बढाइएको छ।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा ऊर्जा सहकार्य सम्बन्धी समझदारीमा हस्ताक्षर हुनुका साथै पछिल्लो पटक नेपाल र चीनबीच ऊर्जा संयन्त्र बनाइएको थियो।

उक्त संयन्त्रको पहिलो द्वीपक्षीय बैठक आगामी सेप्टेम्बर २७ र २८ (असोज ११ र १२ गते) मा काठमाडौंमा बस्ने टुंगो लागेको छ । सो बैठकका लागि नेपालले एजेण्डा पनि तय गरेको छ।

चिनिया पक्षको आग्रहमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसहित ऊर्जामन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले बैठकका लागि एजेण्डा समेत तय गरिसकेको छ ।

मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार संयन्त्रको बैठकमा नेपाल–चीन बीचको अन्तर्देशीय प्रशारण लाइन र ग्रिड कनेक्शन, दुई देशको बीचमा जोइन्ट भेन्चरमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल हुनेछ।

त्यसैगरी, प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेला नेपालले पठाएका सात वटा जलविद्युत आयोजना र ६ वटा प्रशारण लाइनलाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल हुने खड्काले जनाए।

संयन्त्रको बैठक लगत्तै ऊर्जामन्त्री पुन चिनियाँ समकक्षी नुर बेक्रीको निमन्त्रणमा चीन जाने कार्यक्रम छ।

नेपाल र चीनबीचको समझदारीअनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्येनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो। नेपालले उक्त समझदारीअनुसार ऊर्जा सचिव अनुपकुमार उपाध्याय सह–अध्यक्ष रहने गरी सात सदस्यीय संयन्त्र निर्माण गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार