काठमाडौँ – मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले उडाउँदै आएको मौसमी बेलुन तीन दिन देखि बन्द भएको छ।
हाइड्रोजन ग्यास जेनेरेटमा समस्या आएपछि मौसमी बेलुन उडाउन नसकिएको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताए ।
‘हाइड्रोजन ग्यास भरिएर बेलुन माथि उड्ने हो तर अहिले हाइड्रोजन ग्यास जेनेरेटरमा समस्या आएर उक्त ग्यास उत्पादन बन्द भएको छ ’ उनले भने, ‘ग्यास जेनेरेटरमा समस्या आएपछि हामीले विगत तीन दिन देखि मौसमी बेलुन उडाउन सकेका छैनौँ ।’
उनले मौसमी बेलुन फेरि उड्न एक देखि दुई हप्ता सम्म लाग्ने बताए । ‘हामीले ग्यास जेनेरेटर मर्मत गरिरहेका छौँ अबको एक हप्तामा बनिसक्छ होला, नत्र दुई हप्तामा त फेरि पनि मौसमी बेलुन उड्न सुरु हुन्छ’ उनले भने ।
बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षित आद्रताको जानकारी दिने र त्यसको आधारमा मौसम पूर्वानुमान गरिँदै आएको थियो ।
जल तथा मौसम विज्ञान विभागले प्रत्येक दिन कीर्तिपुरबाट बिहान साढे पाँच बजे उडाउँदै आएको बेलुनले ३१ दशमलव ६ किलोमिटरमाथिसम्म पुगी नियमित रुपमा मौसमी तथ्यांक पठाउँदै आएको थियो ।