चौतारा – विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाका खानेपानी योजनामध्ये हालसम्म ९० प्रतिशत योजनाको काम सम्पन्न भएको छ ।
क्षतिग्रस्त ६९१ योजनामध्ये बाकीँ दश प्रतिशत योजनाको काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डि ई लक्ष्मी उपाध्यायले बताए।
क्षतिग्रस्त योजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्थाका थिए । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका र नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेका छन्। चौतारा सागाचोक गढी नपा– ८ इर्खूको दियाले, मेलम्ची नपा अन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण कार्य भइरहेको डिभिजनल इञ्जिनीयर। उपाध्यायले जानकारी दिए।
त्यस्तौ सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गतवर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । झण्डै अढाइ दशकअघि प्रतिसेकेण्ड १० मिटर क्षमताको पानी लाइन पाइप विछ्यााइएकोमा हालको जनसङ्ख्यालाई धान्न नसक्ने भएपछि तीन मुहान थप गरी दोब्बर क्षमतामा विस्तार गरिने लक्ष्य रहेको छ ।
हाल बिछ्याइएको उच्च गुणस्तरको जापानबाट ल्याइएको डिआइ पाइप रहेका छन् । रु ६५ करोडको लगानीमा गरिएको सो काम थालखर्कको मुहान क्षेत्रमा अझै ३.५ किमी पाइप बिछ्याउने काम बाँकीनैै छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको आयोजनाको काम बजेट निकासा नपठाएपछि दुईवर्ष अधिबाटै रोकिएको थियो ।
नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन लगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयका कर्मचारीको काम तथा कार्यालय नतोकिंँदा हाजिर गरेर मात्र दिन बिताउने गरेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने अझै टुङ्गो नलागेपछि अधूरो काम अस्तव्यस्त भएका छन् ।
त्यस्तै खानेपानीको काम अब कुन निकायले गर्ने निश्चित नभएपछि अधुरा काम अलपत्र अवस्थामा रहेको हुदाँ यसबाट जनता प्रत्यक्ष प्रभावित भएका छन् । रासस