तीजका लागि तयार भयाे मुस्ताङी स्याउ (फाेटाे/भिडियाेसहित)

म्याग्दी– मुस्ताङको स्याउ पाकेपछि व्यापारीहरू खरिद गर्न बगैचामै पुग्न थालेका छन्।

मुस्ताङका बगैचा लटरम्म स्याउका दानाले रंगिएका छन्। व्यापारीहरूले तीज पर्वलाई लक्षित गरी स्याउ टिप्न थालेका छन्। मुस्ताङी स्याउको वास्तविक स्वाद आउने समय कात्तिक हो। असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ।

तर, व्यापारीले कृषकको बगैचा नै एकमुष्ठ किन्ने भएकोले तीज चाडलाई लक्षित गरी स्याउ बजारमा ल्याएकोले अमिलोपना बढी हुने गरेको बताइन्छ।

मुस्ताङको मार्फालाई स्याउको राजधानी पनि भनिन्छ। बसन्ती लालचनको ‘क्या राम्रो स्याउ बारी मार्फा गावैको’ गीतले अझ मुस्ताङी स्याउलाई परिचित गराएको छ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियस समेत १३ प्रजातिका स्याउको खेती हुन्छ। मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ, लुप्रा, ताम्बे, आदी गाउँमा स्याउको राम्रो खेती गरिन्छ ।

मुस्ताङको घरपझो गाउँपालिकामा कृषि कार्यक्रम हेर्ने प्राविधिक विमल खड्काका अनुसार ११ सय १५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। तर, ४ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएका बोटबाट ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन हुन्छ।

 ‘अबका २ बर्षमा मुस्ताङको स्याउको उत्पादन दोब्बर बनाउने लक्ष्य छ। बढ्दो तापक्रमले स्याउखेती माथिल्लो क्षेत्रफलमा फैलिन थालेको छ,’ खड्काले भने, ‘मुस्ताङको स्थानीय बजारमा स्याउको खुद्रा मूल्य एक सय २० पुगेको छ। व्यापारीले बगैचा नै ठेक्का लिने भएकोले ठूला कृषकले बारीबाट तौलेर स्याउ बेच्दैनन्।’

सदरमुकाम जोमसोम रहेको घरपझोंग गाउँपालिकाले सञ्चालन गरेको पुथाङ फलफूल तथा तरकारी संकलन केन्द्रले कृषकबाट प्रति केजी एक सय रुपैयाँमा स्याउ खरिद गरी एक सय २० देखि एक सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको छ।

ढुवानीमा समस्या
तर, दैलोमै गुड्ने गाडीबाट बारीका लटरम्म स्याउ ढुवानी गराउने सपना बुनेका मुस्ताङका कृषकलाई सडक सहज नहुँदा ढुवानी समस्या भएको छ। मनसुन कायम रहेको र बेनी–जोमसोम सडक विस्तारक्रममा पहिरो झर्ने क्रम नरोकिएकोले स्याउ ढुवानीमा समस्या आएको हो।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ, लुप्रा, ताम्बे, आदी गाउ“मा गोल्डेन, डेलिसेस, रिचारेड, रेड डेलिसेस र फूजी जातका स्याउ खेती गरिन्छ।

गाउँपालिकाले पनि साविक कृषि कार्यालयको कार्यक्रम पछ्याउँदै स्याउ खेती विस्तारका लागि अनुदानमा बिरुवा वितरण, बगैचा सुदृढीकरण कार्यक्रम र ढुवानीका लागि अनुदानमा कार्टुन छपाएर कृषकलाई उपलब्ध गराउँदै आएका छन्।

जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि हुँदा मुस्ताङको उपल्लो भेगमा समेत स्याउ फल्न थालेपछि सम्भावनाको ढोका खुलेको छ। जलवायु परिवर्तनले मुस्ताङमा स्याउको चिलिङ टेम्प्रेचर घट्न थालेको छ।

स्याउ फलेपछि तयार हुन लाग्ने समयलाई चिलिङ टेम्प्रेचर भनिन्छ। स्याउ चिलिङ टेम्प्रेचरमा जति बढी समय लियो, स्याउ त्यति गुणस्तरीय हुन्छ। चिलिङ टेम्पेचर घट्दा मुस्ताङी स्याउ बजारमा पनि छिटो आउन थालेको छ। अहिले मुस्ताङी कृषकलाई स्याउ टिप्ने चटारो शुरु भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार